तस्वीर– नरेन्द्रसिह कार्की, रासस
काठमाडौं– महाकाली नदी वार–पार गर्न बनाइएका तुइन भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मीले काटिदिएपछि दार्चुलाको व्यास गाउँपालिका छांगरु, तिंकर लगायत क्षेत्रमा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हेलिकोप्टरमार्फत छांगरु, तिंकर, दुम्लीङ, राप्ला, माल, सीना, सुनसेरा लगायतका स्थानमा खाद्यान्न ढुवानी गरेको हो।
भारतीय पक्षले गत साउनमै तुइन काटिदिएपछि व्यास बासीले सदरमुकामसम्म आउजाउ गर्न पाएका थिएनन्। पछिल्लो समय त्यहाँ खाद्यान्न अभाव देखिएपछि हेलिकोप्टरमार्फत चामल, दाल, गहुँ (पिठो) लगायत ढुवानी गरिएको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अहिलेका लागि दशैं तथा तिहारलाई लक्षित गरी ६ सय क्वीन्टल खाद्यान्न हेलिकोप्टरमार्फत ढुवानी गरिएको जानकारी दिएको छ।
गत साउन १५ गते एसएसबीका जवानले तुइनको लठ्ठा चुडाल्दा सदरमुकाम खलंगा आउन महाकाली तर्दै गरेका व्यास गाउँपालिका–२ मालघाटका ३० वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।