काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा समीकरण फेरबेदल हुन थालेको छ। केही उम्मेदवारहरुले टिम परिवर्तन गर्न थालेका छन्।अध्यक्षका प्रत्यासी बद्री केसीको टिममा रहेका दुई प्रभावशाली उम्मेदवारहरुले उम्मेदवारी घोषणा हुनुभन्दा ठीक एक दिनअघि केसीको साथ छाडेका छन्।
केसीको टिमबाट उपाध्यक्षको उम्मेदवार तय गरिएका महेश श्रेष्ठ (जापान) र लोक दाहाल (बेल्जियम)ले केसीको साथ छाडेका छन्। उनीहरु दुवै जनाले अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यको टिमबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। श्रेष्ठ वर्तमान आइसीसी कार्य समितिका कोषाध्यक्ष हुन् भने दाहाल सहकोषाध्यक्ष हुन्।
केसीले पाँच दिनअघि सार्वजनिक गरेको आफूँ पक्षीय उम्मेदवारहरुको सूचीमा श्रेष्ठ र दाहालको नाम र तस्वीर समावेश गरेका थिए ।
केसीको साथ छाडेर आचार्यको टिममा समावेश भएका श्रेष्ठ र दाहालले अब आचार्य नेतृत्वको टिमबाट उम्मेदवारी दिनेछन्। श्रेष्ठले आइसीसी उपाध्यक्षमा र दाहालले कोषाध्यक्षमा उम्मेदवारी दिने छन्।
एनआरएनएको दशौं महाधिवेशन यही अक्टोबरको २३–२५ मा काठमाडौंमा हुँदै छ। महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ।
संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन् भने वर्तमान उपाध्यक्ष बद्री केसीले मंगलबार साँझ उम्मेदवारी घोषणा गर्नेछन्।
उम्मेदवारी घोषणा गर्नुभन्दा ठीक एक दिनअघि उपाध्यक्ष केसीलाई दुई महत्वपूर्ण पदाधिकारीले छाडेका छन् । श्रेष्ठ र दाहालले केसीको साथ छाडेसँगै आचार्यको पल्लाभारी देखिएको छ ।
आइतबार साँझ आयोजित डबली संवाद (भर्चुअल कार्यक्रम)मा सहभागी हुँदै दाहालले आचार्यले अघि सारेका एजेण्डा तथा आचार्यले व्यक्त गरेका प्रतिबद्धतामा आफ्नो समर्थन रहेको बताए। नेपालको धादिङ घर भई हाल बेल्जियममा बसोबास गर्ने दाहाल एनआरएनएका पुराना अभियन्ताका रुपमा परिचित छन् ।
‘कुलजीले अघि सारेका एजेण्डामा मेरो सहमति छ, त्यसैले उहाँसँगै जाने निर्णयमा पुगेको छु,’ दाहालले भने। बेल्जियमबाट अहिले काठमाडौं आइपुगेका छन्।
त्यस्तै, उपाध्यक्षमा उम्मेदवारी दिने तय गरेका महेश श्रेष्ठले पनि आचार्यका प्रतिबद्धता र एजेण्डालाई समर्थन गर्दै आचार्यकै टिमबाट निर्वाचनमा सहभागी हुने बताएका छन् ।
हाल जापानमा रहेका श्रेष्ठले अध्यक्षका अर्का उम्मेदवार केसीले आफ्नो नाम पनि उम्मेदवारहरुको सूचीमा राखेको प्रति असहमति जनाए। ‘म बद्री केसीको टिममा छैन, मेरो समर्थन कुल आचार्यलाई छ,’ श्रेष्ठले भनेका छन्।
आचार्यको टिमबाट महासचिवमा डा. केशव पौडेल (अमेरिका) र महिला उपाध्यक्षमा जानकी गुरुङ(बेल्जियम)ले उम्मेदवारी दिने यसअघि नै टुंगो लागिसकेको छ।
विचार मिल्नेहरुको सहकार्य : आचार्य
यसैबीच, अध्यक्षका उम्मेदवार कुल आचार्यले आफूले कुनै प्यानल नबनाएको स्पष्ट पारेका छन्।
संघको विधान अनुसार प्यानल बनाएर निर्वाचनमा सहभागी हुन नपाइने प्रावधानप्रति आफू सचेत रहेको बताउँदै विचार र एजेण्डा मिल्नेहरुको सहकार्य मात्रै भएको बताए।
भावना र एजेण्डा मिल्नेहरुका बीचमा सहकार्य गरेका छौं, आचार्यले भने, ‘कसैले प्यानल बनायो भन्यो भने गलत हुन्छ।’
गैर आवासीय नेपाली संघको साख र मर्यादालाई उच्च बनाउन चाहनेहरु एकजुट हुनुपर्ने अवस्था आएको आचार्यले बताए।
आचार्यले तोकिएको समयमा नै एनआरएनएको निर्वाचन हुनेमा आशंका बढेको बताउँदै समयमा नै विवाद समाधान गरेर तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताए।
‘सदस्यता तथा डेलिगेट्स चयनमा विवाद देखिएको बाहनामा निर्वाचन नै पर सार्ने खेल हुन थालेको छ,’ आचार्यले भने, ‘समयमै विवाद सुल्झाएर तोकिएकै मितिमा चुनाव हुनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।