काठमाडौं- मुम्बईको फोर्ट कोर्टले लागुऔषध मुद्दामा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खान थप ३ दिन एनसीबीको हिरासतमा राख्न आदेश दिएको छ।
सोमबार भएको सुनुवाइको क्रममा एनसीबीले अक्टोबर ११ सम्म हिरासतमा राख्न अनुमति मागेको भए पनि अदालतले अक्टोबर ७ सम्मको म्याद दिएको हो।
उनीसँगै पक्राउ परेका अरबाज मर्चेन्ट, मुनमुन धमिजा, विक्रान्त चोकर, इस्मित सिंह, नुपुर सारिका, गोमित चोपडा र मोहक जसवाललाई पनि अक्टोबर ७ सम्म नै हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
शनिबार राति भइरहेको पार्टीमा एनसीबीले छापा मारेको थियो। ६ सयभन्दा धेरै मानिस रहेको उक्त पार्टीबाट एनसीबीले ३ युवतीसहित १३ जनालाई हिरासतमा लिएको थियो। उनीहरुलाई लागूऔषधको सेवन गरेको आरोपमा पक्राउ गरिएको एनसीबीले जनाएको छ।
जहाजमा चलिरहेको पार्टीबाट एनसीबीले धेरै मात्रामा लागूऔषध बरामद गरेको बताइएको छ। ‘एमडी कोक’ र ‘हशीश’ नामक दुई किसिमका करोडौं मूल्य बराबरको लागूऔषध बरामद गरिएको थियो।
शाहरुखका छोरा आर्यनले भने कुनैपनि किसिमको लागूऔषध प्रयोग नगरेको बयान दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।