काठमाडौं- जनकपुर बम काण्डका मुख्य योजनाकार भनिएका पूर्वराज्यमन्त्री सञ्जयकुमार शाह 'टक्ला'को कैद उच्च अदालत जनकपुरले घटाएको छ। तर, ज्यान मार्ने उद्योगमा भने जन्मकैद सदर भएको छ।
यसअघि जिल्ला अदालतले फैसला सुनाउँदै १२ वर्ष कैद तोकेकोमा उच्च अदालतले ५ वर्ष घटाएर ७ वर्षमात्र कायम गरेको छ।न्यायाधीशद्वय रमेश ढकाल र धिरबहादुर चन्दको इजलासले ज्यान मार्ने उद्योगमा सजाय कम गर्ने फैसला सुनाएको हो।
उच्च अदालतका अनुसार साहको जन्मकैदको मुद्दा जिल्ला अदालतको आदेश सदर भएको र उद्योगमात्र कमि भएको हो। जन्मकैदमा कति सजाय हुने अर्को सुनुवाइले निर्धारण गर्ने छ।
साहसहित अन्यलाई दोषी ठहर गर्दै जिल्ला अदालतले धनुषाले जन्मकैद सजाय हुने फैसला गरेको थियो।
जनकपुरको रामानन्द चौकमा भएको बम काण्डमा परी ५ जनाको हत्या तथा करिब ४० जना घाइते भएको मुद्दा र जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको हत्या गरेको अभियोगमा साह मुछिएका थिए।
यसका अतिरिक्त हातहतियार तथा खरखजाना र केही सार्वजनिक अपराध मुद्दामा २१ महिनाको कैद सजाय समेत भुक्तान गरिसकेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहमाथि साढे २१ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। त्यसैगरी, सम्पति शुद्धीकरण अनुसन्धान विभागले पनि साहको सम्पत्ति विषयमा अनुसन्धान गरिरहेको अवस्था छ।
को हुन् सञ्जय टक्ला?
२०६४ साल चैत्र २८ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा धनुषा-४ बाट सञ्जय साह उर्फ सञ्जय टक्ला पहिलो पटक निर्वाचित भएका थिए।
जनकपुरमा ‘डन’को छवि बनाएका साहले सभासदमा निर्वाचित भएपछि स्वचालित बन्दुकबाट तीन राउण्ड फायर गर्दै खुशी मनाएका थिए। विद्यर्थी जीवनबाटै ‘डन’का रुपमा परिचित उनलाई जनकपुरतिर ‘सञ्जय टकला’ उपनामले समेत चिनिन्छ। ठेक्कापट्टाबाट मनग्य कमाएका उनी पैसा भएकै कारण टिकट किनेर संविधानसभा निर्वाचनको केही दिनअघि मात्र फोरममा प्रवेश गरेका थिए।
मधेशी जनअधिकार फोरम नेपालको टिकट पाएर प्रत्यक्ष निर्वाचनमा सञ्जय कुमार साहले १३ हजार ४ सय २२ मत ल्याएर निर्वाचित भएका थिए। उक्त निर्वाचनमा साहले नेकपा एमालेका नेता रघुवीर महासेठलाई पराजित गरेका थिए। महासेठले ९ हजार २ सय ८२ मत मात्र प्राप्त गर्न सकेका थिए।
त्यसैगरी, २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा धनुषा-४ बाट सञ्जय कुमार साहले १२ हजार ६ सय ६६ मत ल्याएर दोस्रो पटक निर्वाचित भएका थिए। सद्भावना पार्टीको वरिष्ठ उपाध्यक्षसमेत रहेका साह निर्वाचित भएका थिए।
साहले नेपाली कांग्रेसका धनुषा सभापति तथा पूर्वसभाषद रामसरोज यादवलाई पराजित गरेका थिए। साह नै त्यस्तो नेता बन्न सफल भए जो नकपुर क्षेत्रमा लगातार दुई पटक निर्वाचन जित्न सफल भएका थिए। त्यस अघिसम्म जनकपुरमा कुनै पनि नेताले लगातार दुई पटकसम्म जितेको इतिहास छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।