काठमाडौं- नेपाली टेलिभिजन क्षेत्रबाट मुलधारको फिल्म क्षेत्रमा प्रवेश गरेर सफल भएका कलाकारमध्येमा पर्छन् दीपकराज गिरी। टेलिभिजनमा हुँदा उनको कार्यक्रम ‘तीतो सत्य’ले निकै चर्चा कमाएको थियो।
टेलिभिजनबाट ठूलो पर्दामा देखिन थालेका दीपकले व्यापारिक हिसाबले निकै सफल भएका फिल्महरु दिए। ‘वडा नम्बर ६’, ‘६ एकान ६’, ‘छक्कापञ्जा (शृङ्खला)’लगायतका उनका फिल्मले दर्शकको मन जित्नुका साथै आर्थिक लाभ पनि राम्रै लिएका थिए।
फिल्म क्षेत्रमा आफ्नो वर्चश्व कायम नै रहँदा दीपक फेरि टेलिभिजनमै फर्किएका छन्। उनले ‘ग्यालेक्सी फोर के’ नामक टेलिभिजनबाट प्रसारण हुने ‘क्राइम पेट्रोल नेपाल’मार्फत् फेरि टेलिभिजनमा 'कमब्याक' गर्दै छन्।
भारतीय टेलिभिजन च्यानल ‘सोनी’बाट प्रसारण हुने ‘क्राइम पेट्रोल’कै शैलीमा यो कार्यक्रम बनेको छ। शुक्रबार युट्युबमार्फत् यसको आधिकारिक ट्रेलर सार्वजनिक गरिएको थियो। उक्त ट्रेलरमा युवतीको मृत्युमा अनुसन्धान गरिरहेको देख्न सकिन्छ।
सुरुआतमा टेलिभिजनमा सफल दीपक फिल्ममा पनि सफल भए। अब फेरि टेलिभिजनमै फर्किंदै छन्। यसपटक भने दर्शकले विगतमा देखेको भन्दा फरक दीपकलाई देख्ने पक्का छ। उनी पूर्णरुपमा आफूले काम गरिरहेको हास्यव्यंग्य विधाभन्दा फरक अपराधमा छिर्दै छन्। हेरौं यसमा उनी कति सफल होलान्!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।