काठमाडौं- लुम्बिनी प्रदेश सभाका सभामुख तथा जनवादी गीतकार/संगीतकार पूर्णबहादुर घर्ती मगरलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ। उनलाई ‘उत्सर्ग फिल्मस् नेपाल’ले यो पुरस्कार प्रदान गर्न लागेको हो।
आफ्ना गीतसंगीतको माध्यमबाट नेपाली समाजको सांस्कृतिक र राजनीतिक रुपान्तरणमा विशिष्ट योगदान पुर्याएको भन्दै उनलाई पुरस्कार दिइने उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष केएल पीडितले बताए। उनलाई मंसिर ११ गते ताम्रपत्रसहित २५ हजार रुपैयाँको पुरस्कार प्रदान गरिनेछ।
घर्ती २०४३ बाट पूर्णकालीन राजनीतिमा आएका हुन्। त्यसअघि शिक्षण पेशामा रहेका उनले ‘जनयुद्ध’को विचारधारामा थुप्रै गीत तथा कविता लेखेका छन् भने उनकै संगीत संयोजनमा थुप्रै गीत सार्वजनिक भएका छन्। थुप्रै सांस्कृतिक समूहको नेतृत्व गरेका उनी सामना सांस्कृतिक परिवारको केन्द्रीय संयोजक समेत बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।