डा.सविना श्रेष्ठ वरिष्ठ नेत्र विशेषज्ञ हुन्। तर, उनको परिचय यतिले मात्र पूरा हुँदैन। उनी पेसाले डाक्टर र रुचिले चित्रकार हुन्। कविता पनि लेख्छिन्।
चित्रकारितामा उनको गहिरो लगाव छ। डाक्टर पढ्न बंगलादेश रहँदा पनि उनले चित्र बनाउन छोडिनन्। उनले भर्खरै एकल चित्रकला प्रदर्शनी पनि गरिसकेकी छिन्। पहिलो प्रदर्शनीमै सयभन्दा बढी संख्यामा चित्र राखेकी थिइन्। तीमध्ये धेरै बिक्री भए। बिक्रीबाट उठेको रकम सामाजिक कार्यमा लगाउने उनी बताउँछिन्।
‘भाइब्रेसन’ नाम दिइएको तीन दिवसीय एकल चित्रकला प्रदर्शनीका चित्र करिब तीन वर्ष लगाएर तयार पारिएको उनी बताउँछिन्। उनका चित्रहरू हेर्दा सामान्य लाग्छ, तर तिनमा गहिरो अर्थ र अभिप्राय छ। प्रत्येक चित्रमा जीवन र प्रकृतिलाई, माया र प्रेमलाई एक्रिलिक रङबाट आकार दिएकी छन्। तिनले उनीभित्रको गहिरो संवेदनालाई प्रतिविम्बित गर्छ।
सो प्रदर्शनीका तीनवटा चित्र उनले अमूर्तशैलीमा बनाएकी छिन्। तिनमा रङ संयोजन र भाव सम्प्रेषणको प्रस्तुति आकर्षक छ। तर, उनी आफूलाई मूर्तशैलीका चित्रकारितामै काम गर्न आनन्द आउने बताउँछिन्। त्यस्ता चित्रहरूमा दृश्यहरू यथार्थ र आमदर्शकले पनि सजिलै बुझ्न सक्छन्। रङलाई राम्ररी खेलाउन सक्ने क्षमता भइसकेपछि मात्र अमूर्तकलामा काम गर्न सकिने उनको अनुभव छ।
सविनाले दृष्टिविहीनका लागि समेत चित्र बनाएकी छन्। दृष्टिविहीनहरूले आफूले बनाएको चित्र क्यानभासको सतहमा छामेर कलाको भाव महसुस गर्न सक्ने उनी बताउँछिन्। ती चित्रमा हिमाली छटाको उज्यालो चहक, हरियाली प्रकृतिको विराट सौन्दर्य मात्र होइन समुन्द्र किनारका चट्टानसमेत देख्न सकिन्छ। ती चित्रमा हाँसो, खुसी र दुःखका पीडाजन्य भावका चित्र पनि छन्।
उनी भन्छिन्– ‘कतिपय चित्रहरू मेरो आफ्नै जीवनसँग सन्निकट छन्। ती चित्रहरूले आफ्नै जीवनयात्राका विविध पाटाहरूलाई झल्काउँछन्।’ प्रदर्शनीमा राखिएका उनका चित्रमा प्रेमको गहिरो भाव, विछोडको पीडा, भगवान कृष्णप्रति मिराको समर्पण, भगवान गणेशलगायत आशा, निराशाका दृश्य अंकित छन्।
वनस्पति श्रृंखला, समुन्द्री छाल, बादलका तरङलगायत उनका कलामा फूलपात, लतालहरा र जीवन सादृश्य अनेकौँ आकृति सिर्जित छन्। ती सबैका ‘भाइब्रेसन’ भन्नु सुन्दरताको अपेक्षा र आग्रह हो। मायाममता र शुभेच्छाका कम्पनहरू अन्ततः मानवीय सौन्दर्यका साक्षात् स्वरूप हुन्। अनि सकारात्मक सोँच र असल विचारका कलाकारी अभिव्यक्ति हुन्।
उनका कलामा परिपक्व रङ संयोजनको कमी छ। तर, अभिव्यक्त भएका भाव र विचार कलाका माध्यमबाट जीवन्त र प्रभावकारी रुपमा सम्प्रेषण भएको छ। उनका चित्रले मानवीय सद्भावको सन्देश दिन्छन्।
हुन त डा. सविनाले चित्रकलाको कुनै औपचारिक अध्ययन गरेकी छैनन्। न कुनै गुरु छन्, न आधारभूत शिक्षा। उनले आफ्नो रुचिको क्षेत्र चित्रकलामा स्वअध्ययनबाट नै धेरै संख्यामा चित्र बनाएकी छिन्। त्यसैगरी पेसागत व्यस्तताबीच पनि सिर्जनात्मक क्षमताको प्रयोग र त्यसलाई सार्वजनिक गर्नुपर्छ भन्ने दृढ मान्यता आफैँमा उदाहरणीय छ।
उनी भन्छिन्– ‘हुन त सानै उमेरदेखि म स्केचहरू गर्थेँ। मेरो यही रूचिलाई साकार पार्न मैले केही समय रामानन्द जोशीसँग चित्रकला सिकेँ। तर, त्यो मेरो जीवनमा त्यतिबेला प्रयोग भएन। बंगलादेशमा पढ्न बस्दा केही अनुहार स्केच गरेर कलामा फर्किने सोँच बनाएकी थिएँ। त्यसपछिको निकै दशकको अन्तरालपश्चात कूची समातेर मैले क्यानभासमा रङ खेलाउन थालेँ।’
उनको एकल चित्रकला प्रदर्शनी निकै सुखद भयो। कोरोना कहरका कारण लामो समयसम्म बन्द भएर खुलेको ग्यालरीमा दर्शकको भीड लागेको थियो। प्रदर्शनी अवधिमा उनका कलाप्रति दर्शकको जिज्ञासा त थियो नै आकर्षणका अनुरागहरू जागृत भएको अनुभव पनि भएको छ। बिक्रीका हिसाबले तथा दर्शक आगमनका कारण कलानुराग निकै बढेको महसुस गर्न सकिन्छ। तीन दिने प्रदर्शनीमा दैनिक दर्शकको भीड र बिक्री भएको थियो।
चित्रहरूको उद्घाटन शताब्दी पुरूष सत्यमोहन जोशीबाट गरिनु अनि प्रदर्शनीमा सय थान चित्रहरू समावेश हुनु आफैँमा संयोग मात्र होइन अनुपम कार्यको एउटा उदाहरण हो।
उनको कवितायात्रा पनि चलिरहेको छ। उनले २०५८ सालमै ‘मनको स्पर्श’ शीर्षकको कविता संग्र्रह प्रकाशित गरेकी छिन्। त्यो समयसम्म उनी आफ्नो नाम सविना श्रेष्ठ ‘स्मृति’ लेख्थिन्। विद्यालय अध्ययनकै क्रममै आफूले कविता पढ्ने र लेख्ने गरेको उनी बताउँछिन्।
कामको चाप र व्यस्तताको तनाव हुँदाहुँदै पनि सिर्जना गर्न पाउँदा आनन्द लाग्ने उनको भनाइ छ। मानिसलाई फुर्सद भयो भने उसले रचनात्मक काम गर्न नसक्ने उनी बताउँछिन्। तर, आफूले अलिअलि फुर्सद निकालेर पनि यतिका धेरै चित्र बनाउन सकेकोमा आफैँलाई अचम्म लागेको बताउँछिन्।
डा. सविना पेशाले नेत्र विशेषज्ञ र प्राध्यापक पनि हुन्। उनी डाक्टर, साहित्यकार हुँदै अब चित्रकार पहिचानमा आफूलाई स्थापित गराउन सफल भएकी छिन्। एक कुशल डाक्टरले चित्रकारितामा पनि यतिका कलाकर्म सार्वजनिक गर्नु प्रसंशनीय कार्य हो। आगामी दिनमा अझ सशक्त कलारचनाका लागि अग्रिम शुभकामना।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।