काठमाडौं– पत्रकारिता र युवा क्षमता विकास तालिम सञ्चालन गर्दा अनियमितता गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले कैलाश गाउँपालिकाका अध्यक्ष टंक बहादुर मुक्तासहित गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजल श्रेष्ठ, आन्तरिक लेखा परीक्षक त्रिलोक थापा मगर र सामाजिक विकास अधिकृत मोहन प्रसाद पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
यस्तै, तालिम सञ्चालन गर्ने फिलिंगो मिडियाका सञ्चालक राम कुमार रिजालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता तालिम कार्यक्रम संचालन गर्दा अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो।
उजुरीमाथि छानबिन गर्दा आधारभूत पत्रकारिता तालिम र युवा क्षमता विकास तालिम संचालनबापत भए गरेको कामभन्दा बढी २ लाख ६० हजार ९०० रुपैयाँ भुक्तानी गरी लिए–दिएको पुष्टि हुन आएको अख्तिायरले जनाएको छ।
अख्तियारले गाउँपालिका अध्यक्षसहित ६ जनाविरुद्ध नै जनही २ लाख ६० हजार ९०० रुपैयाँ बिगो दाबी गरेको छ। अख्तियारले गाउँपालिकाका अध्यक्ष मुक्तानसहित प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरुविरुद्ध १ वर्ष ६ महिनाको कैद सजाय समेत मागदाबी गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।