फाइल तस्बिर
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापकीय सीप उपलब्ध गराउनुपर्ने बताएकी छन्।
शुक्रबार काठमाडौंमा आयोजित जिल्ला समन्वय समिति महासंघको तेस्रो राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारीले अर्थतन्त्रको मूल आधार कृषि क्षेत्र भएकाले कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापकीय सीप उपलब्ध गराउनुपर्ने बताएकी हुन्।
उनले विदेश जान बाध्य युवाका लागि सीपमूलक तालिमको व्यवस्था गरी रोजगारीको अवसर सुनिश्चित गर्नुपर्ने अहिलेको खाँचो रहेको बताइन्। उनले मुलुकको समग्र विकासलाई नागरिकको आकांक्षाअनुरुप शीघ्रता दिनुपर्ने खाँचो रहेको बताइन्।
राष्ट्रपति भण्डारीले विद्यार्थीहरुलाई उपलब्ध गराइँदै आएको दिवा खाजाका लागि स्थानीय उत्पादनलाई समावेश गर्ने विषयमा जनप्रतिनिधिमुलक संस्था र शैक्षिक संस्थाको बीचमा आवश्यक सहकार्य र समन्वय हुनुपर्ने बताइन्। उनले बालबालिकाको स्वास्थ्य र बौद्धिक विकासका लागि पौष्टिक आहार र वातावरण निर्माण गर्न स्थानीय निकायले नेतृत्वदायी र गहन भूमिका खेल्नुपर्ने बताइन्। उनले कोभिड-१९ महामारीको नियन्त्रण र व्यवस्थापनमा स्थानीय निकायहरुले खेलेको भूमिकाको प्रशंसासमेत गरिन्।
कार्यक्रममा नगरपालिका महासंघका अध्यक्ष अशोक व्यञ्जुले संवैधानिक व्यवस्थालाई बलियो बनाउनका लागि जनप्रतिनिधिले आफ्नो भूमिका बढाउनुपर्ने बताए। उनले नेपालमा महिला, दलित, आदिवासी जनजातिहरुको सबैभन्दा ठूलो हिस्साको रुपमा रहेको तर अझै पनि यो हिस्सा कमजोर रहेको बताए। उनले पिछडिएकाहरुलाई मुलधारमा ल्याउन स्थानीय सरकारलाई अझै सशक्त रुपमा जोडेर अघि बढ्न आवश्यक रहेको बताए।
अध्यक्ष व्यञ्जुले जिल्ला समन्वय समिति राजनीतिक प्रतिनिधित्वलाई कुन मिसनमा अघि लैजाने भन्ने कुरामा जिल्ला समन्वय समिति नै स्पष्ट नरहेको भन्दै त्यसलाई प्रस्ट गर्नुपर्ने बताए। समन्वय गर्नका लागि विवादहरुलाई समाधान गर्न कानुनी व्यवस्थामा अघि बढ्नुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।