काठमाडौं– जंगलका तरकारीका लागि निगुरो खोज्न गएकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ। चारआली जंगलमा निगुरो टिप्ने क्रममा बिर्तामोड नगरपालिका–८ बस्ने ५० वर्षीय लतुमाई मर्डीको बिहीबार बिहान मृत्यु भएको हो। निगुरो टिप्न टिप्न जाँदा जंगली हात्तीले सुँढले चेपेर चन्द्रगढी सामुदायिक वनतर्फ लगेको मृतकका श्रीमान सुकलाल मर्डीले बताए।
मर्डीले श्रीमतीलाई हात्तीले सढले चेपेर जंगलमा लगेको प्रहरीलाई खबर गरेपछि सेना, प्रहरीको ६० जनाको टोली र स्थानीयले उनको खोजी गर्दा दिउँसो ४ बजे स्थानीय सेती खोलाको पैनीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले बताए। हात्तीले लखेटेपछि श्रीमान सुकलाल भने भागेर ज्यान बचाउन सफल भएका थिए।
उनले गाउँमा आई हल्ला गरेपछि सेना प्रहरी र स्थानीय मर्डीको खोजीमा जंगल पसेका थिए। मर्डी दम्पती लामो समयदेखि चारआली जंगलमा निगुरो खोजेर विक्री गरी आफ्नो जीविका चलाउँदै आएका थिए।
यस चारआली जंगल क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयहरु तरकारीका रुपमा प्रयोग हुने निगुरो टिपेर विक्री गरेर घरखर्च चलाउँदै आएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।