काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पछिल्लो समय नेपालको आन्तरिक हवाई उड्डयन क्षेत्रको सुरक्षामा देखिएको समस्याबारे अध्ययन गर्न पाँच सदस्यीय छानविन समिति गठन गरेको छ।
मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको निर्णयानुसार समिति गठन गरेको जानकारी दिएको छ। नेपालको आकाशमा उड्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेपालमा दर्ता भएका हवाईजहाज र हेलिकप्टरको अवस्था परीक्षण गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने कार्य जिम्मेवारीसहित छानविन समिति गठन गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रनालयका सहसचिव बुद्धिसागर लामिछाने संयोजक रहेको समितिमा क्यानका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल क्षेत्री, मन्त्रालयका सीएटीसीअ प्रमोद नेपाल, क्यानका प्रबन्धक लक्ष्मण देवकोटा रहेका छन्।
असोज ११ गते काठमाडौंबाट ७७ जना यात्रु लिएर उडेको बुद्ध एयरको विमानमा खराबी देखिएको लगायत पछिल्लो समय विभिन्न कम्पनीका जहाज र हेलिकोप्टरमा प्राविधिक समस्या देखिएकाले यस्तो समस्या समाधानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ छानविन समिति गठन गरिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।