काठमाडौं- करिब ३८ सय किलो सुन तस्करी एवं सनम शाक्यको हत्या सम्बन्धी मुद्दामा १४ जना प्रतिवादीको पक्षमा १३ कानुन व्यवसायीले बहस गरेका छन्।
सुन तस्करी प्रकरणमा चूडामणि उप्रेती गोरेको समूहले मोरङ उर्लाबारीका सनम शाक्यको हत्या गरेपछि त्यस सम्बन्धी मुद्दामा प्रतिवादी बनाइएकामध्ये १४ जनाको पक्षमा बुधबार कानुन व्यवासायीहरूले बहस गरेका छन्।
१४ जना प्रतिवादीको प्रतिरक्षामा १३ जना कानुन व्यवसायीले बहस गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।
अधिवक्ताहरू विनोद तिमल्सिना, विकाश थापा, सरोज अधिकारी, कला त्रिताल, हेमराज पन्त, गणेशराज लुइँटेल, ज्ञानेन्द्र थापा, भरतप्रसाद खरेल, रमेश महर्जन, शान्तिराम भण्डारी, रामप्रसाद भाण्डारी, अमरबहादुर राउत र रामबहादुर शर्माले प्रतिरक्षामा बहस गरेका हुन्।
उनीहरुले आफ्ना प्रतिवादीले सुन तस्करी र कर्तव्य ज्यान मुद्दामा सफाइ पाउनुपर्ने जिकिर गरेका छन्। उनीहरुले सुन तस्करीमा संलग्न रहेको भनी पुष्टि हुने आधार नभएको र शाक्यको हत्यामा कुनै संलग्नता नभएकाले सफाइ पाउनुपर्ने जिकिर गरेका छन्।
उनीहरूले अनुसन्धानकर्ता र सरकारी वकिलहरुले होलसेलमा सबैलाई अभियोग दाबी गरेको जिकिर इजलासमा गरेका छन्। मोरङ जिल्ला अदालतमा मुख्य न्यायाधीश भरत लम्सालको इजलासले आइतबारदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइ थालेको छ।
पहिलो दिन सरकारी वकिलहरुले बहस गरेका थिए। सरकारी वकिलहरुले सबै अभियुक्तहरुलाई दुवै मुद्दामा अधिकतम सजाय हुनुपर्ने जिकिर गरेका थिए।
हालसम्म प्रतिवादीहरु सञ्जयबहादुर राउत, श्यामबहादुर खत्री, राजन थापा, अम्मरमान डंगोल, माधव भनिने मदन घिमिरे, मोतीराम श्रेष्ठ, एलबी भनिने लालबहादुर मगर, राजु महर्जन, डेबिट छिरिङ वाङ्गेल घले, शैयद अकबर साह, रामकुमार तिवारी, सुनील श्रेष्ठ, गीता श्रेष्ठको पक्षमा बहस गरेका छन्।
प्रतिवादीमध्ये खत्री नेपाल प्रहरीका एसएसपी र राउत डीएसपी हुन्। करिब ८० जना कानुन व्यवसायीले बहसका लागि नाम लेखाएका छन्। सोमबारदेखि प्रतिवादीका कानुन व्यवसायीले बहस थालेका थिए। बहसका लागि नाम लेखाउने कानुन व्यवसायीको संख्या अझै आइरहेकाले थपिने सूचना अधिकारी धमलाले बताए। यो मुद्दा बिहीबारका लागि हेर्दाहेर्दै रहेको छ।
जिल्लाले निरन्तर सुनुवाइ गरेर यो विवाद टुंग्याउने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।