काठमाडौं- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री कार्यालयमा अनियमितता भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेकोप्रति आक्रोश व्यक्त गरेका छन्।
उनले सुशासनको पक्षमा काम गरेको प्रदेश र आफूलाई बदनाम गराउने षडयन्त्र भएको दाबी गरे। अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई फोन गरेर आयोगको शैलीको विषयमा आफूले प्रश्न गरेकोसमेत उनले बताए।
‘जसरी एकै दिनमा समाचार आउने अनि सोही दिन अख्तियारको टोली आएर छापा मार्ने शैली अपनाइयो यसलाई भ्रम सिर्जना गर्ने कार्यको रुपमा लिएको छु,’ उनले भने, ‘यसलाई षडयन्त्रको रुपमा लिएको छु।’ उनले आफूहरुलाई सुरुदेखि नै बदनाम गराउनेहरुले यो काम गरेको आरोप लगाए।
‘सधैं प्रदेश सरकारको विरोधमा रहेको र सुशासनको पक्षमा काम गरेको देख्न नसकेपछि यस्तो कार्य गरिएको हो,’ उनले भने, ‘बेनामीबाट उजुरी हुने र कुनै पनि सामग्री खरिद गर्दा सार्वजनिक खरिद ऐन उल्लंघन नगरिएको अवस्थामा मारिएको छापा बदनाम गराउने षडयन्त्र नै हो।’
प्रदेश सरकारका सचिवहरुले विधि प्रक्रियाअनुसार नै गरेको दाबी गर्दै उनले मुख्यमन्त्रीको कार्यालयमा छापा मार्यो भनी समाचार प्रकाशन गर्नु भ्रमपूर्ण भएको दाबी गरे। ‘संघीयता कार्यान्वयन गरिरहेको प्रदेशमा भ्रम र बदनाम गराउन ल्याइएको हो,’ मुख्यमन्त्री राउतले भने।
लोकपाल अध्यादेश ल्याउने तयारी रहेको समयमा छापामार शैलीमा टोली पठाएर मिडियाबाजी गर्नुले शंका उब्जाएको उनको भनाइ छ। ‘अख्तियारका प्रमुख प्रेम राईसँग मैले कुरा गरें। सुशासन कायम गर्न खोज्दा जसरी प्रस्तुत भए यो सही छैन भनें। उहाँले पनि शैली गलत भएको स्वीकार गर्नुभयो,’ उनले भने, ‘तपाईंहरुले जुनसुकै कागज चाहिए पनि हामी दिन सक्छौं भनें। जुन किसिमले प्रस्तुत भयो यो मुख्यमन्त्रीलाई बदनाम गराउने प्रयास हो।’
बर्दिबासस्थित आयोगको कार्यालयबाट गएको टोलीले बुधबार छापा मारेको थियो। प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि ११ करोड १७ हजार रुपैयाँ बराबरको साइकल किनेको थियो। साइकल खरिदमा अनियमितता भएको भन्दै आयोगमा उजुरी परेको थियो। अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले आवश्यक कागजात नियन्त्रणमा लिइएको र त्यसको विस्तृत अध्ययन अघि बढाइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।