काठमाडौं- बंगालको खाडीको उत्तर पश्चिम भू-भाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको छ। हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै राति थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनाका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने भएकाले अहिलेसम्म त्यो अवस्था नरहेकाले मनसुन औसत समयभन्दा केही ढिलो बाहिरिने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। उनका अनुसार अब भारी वर्षाको सम्भावना भने रहेको छैन।
यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो। यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ। यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गरेको थियो। यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा मनसुन बाहिरिने बताइएको छ।
‘गुलाब’ नामक शक्तिशाली चक्रवात सोमबारदेखि भारतको उडिसाको जमिनमा अवतरण भइसकेकाले यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको विभागको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।