काठमाडौं- गोरखाको चुमनुबरी गाउँपालिका-६ चुम्चेतको चुमलिङमा नेपाली सेनाको हेलिकप्टरबाट खाद्यान्न पुर्याइएको छ। गत भदौ २ गतेबाट लोप्ता र सर्दी भीरमा गएको पहिरो अहिलेसम्म नरोकिँदा खाद्यान्न अभाव भएपछि सेनाको हेलिकप्टरमार्फत् आज खाद्यान्न पुर्याइएको हो।
गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यका अनुसार आज सेनाको हेलिकप्टरले दुई पटक गरी तीन हजार ४२० किलोग्राम खाद्यान्न पुर्याएको छ।
‘आज सेनाको हेलिकप्टरले दुई पटक गरी तीन हजार ४२० किलोग्राम चामल चुमनुबरी गाउँपालिका-६ चुम्चेतको चुमलिङमा पुर्याएको छ,’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने।
गत शुक्रबार गृहमन्त्री बालकृष्ण खाण चुम्चेतमा पुगेका बेला स्थानीयले आफूहरूलाई खाद्यान्न समस्या भएको बताएका थिए। स्थानीयको तर्फबाट गृहमन्त्री खाणलाई ज्ञापनपत्र पनि बुझाइएको थियो। त्यसपछि मन्त्री खाणले सँगै गएका मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललाई खाद्यान्नको व्यवस्थाको पहल गर्न निर्देशन दिएका थिए।
प्रवक्ता पोखरेलको पहलमा गोरखा सदरमुकामबाट आज सोही मात्रामा खाद्यान्न त्यहाँ पुगेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। स्थानीयले गृहमन्त्रीसँग सड्क खुलाउन, टेलिफोनको टावर बनिसकेकाले सञ्चालनमा ल्याउन पनि माग गरेका थिए। यी माग पूरा गर्न पहल भइरहेको मन्त्रालयका प्रवक्ता पोखरेलले बताए।
लोप्ता र सर्दी भीरमा अहिलेसम्म सुख्खा पहिरो खसिरहेकाले स्थानीय पैदल पनि आवतजावत गर्नसक्ने अवस्था नरहेको आचार्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।