काठमाडौं– यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने भएको छ। जल तथा मौसम विज्ञान विभागले अझै केही दिन मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ।
मंगलबार मात्रै प्रदेश २ र बागमती प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको विभागले जनाएको छ। मेघ गर्जन र चट्याङसहितको वर्षा गराउने बादल अन्य ठाउँमा पनि विकास भइरहेको विभागले जनाएको छ।
मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनाका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने हुन्छ। तर, अहिलेसम्म त्यो अवस्था नरहेकाले मनसुन औसत समयभन्दा केही ढिलो बाहिरिने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। उनका अनुसार अब भारी वर्षाको सम्भावना भने रहेको छैन।
यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो। यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ। यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गरेको थियो।
यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा मनसुन बाहिरिने बताइएको छ ।
‘गुलाब’ नामक शक्तिशाली चक्रवात सोमबारदेखि भारतको उडिसाको जमिनमा अवतरण भइसकेकाले यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदली र केही ठाउँमा वर्षा हुने सम्भावना रहेको विगाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।