काठमाडौं– कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द रहेका भक्तपुरका विद्यालयहरु धमाधम खुल्न थालेका छन्। जिल्लामा भक्तपुर र चाँगुनारायण नगरपालिकाका विद्यालय भौतिक उपस्थितिमै सञ्चालन भएका छन् भने मध्यपुरथिमि र चाँगुनारायण नगरपालिका विद्यालय दसैं तिहारपछि मात्रै सञ्चालनमा आउने भएका छन्।
कोभिड–१९ संक्रमण घटेको भन्दै लकडाउन हटाएर निषेधाज्ञा खुकुलो बनाएसँगै स्थानीय तहमा विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन हुन थालेका छन्। भक्तपुर र चाँगुनारायण नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय खुल्न अनुमति दिएपछि यहाँका विद्यालय असोज १ गतेदेखि नै विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालनमा आएका हुन्।
सूर्यविनायक नगरपालिकाले भने दसैंअगाडि भौतिकरूपमा परीक्षा सञ्चालनको अनुमित दिए पनि दसैंपछि कक्षा ८ देखि १० सम्म र तिहारपछि सबै कक्षालाई भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने अनुमति दिने निर्णय गरेको छ। मध्यपुरथिमि नगरपालिकाले भने उपत्यकामा १८ वटा नगरपालिकामध्ये अन्तिममा मात्रै विद्यालय खोल्न अनुमति दिने बताउँदै आएको छ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले अनुमति नदिए पनि लुकीलुकी भौतिकरूपमा विद्यालय सञ्चालन गर्न थालेपछि नगरपालिकाले विद्यालय सञ्चालन निर्देशिका जारी गरी स्वास्थ्य मापदण्ड कार्यान्वयनमा ल्याउँदै विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न अनुमति दिएको बताए।
सूर्यविनायक नगरपालिकाले तत्कालका लागि भौतिकरूपमा परीक्षा सञ्चालन गर्न अनुमति दिए पनि कक्षा सञ्चालन भने दसैंपछि मात्रै अनुमति दिने भएको छ।
मध्यपुरथिमि नगरपालिकाले भने तिहार अगाडि विद्यालय सञ्चालनको अनुमति नदिने भएको छ।
वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु हुने भए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत चैत पहिलो साता नै नयाँ शैक्षिक सत्रको भर्ना नलिन आग्रह गरेको थियो।
जेठ १८ गते बन्द विद्यालयको नियमित पठनपाठन सञ्चालन गर्न मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७ जारी गर्दै असार १ गतेदेखि शैक्षिक सत्र गणना गरी विद्यार्थी भर्ना गर्न र वैकल्पिक सिकाइ सञ्चालन गर्न अनुमति दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।