काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को सिफारिसानुसार राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ खारेज गरेकी हुन्।
केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्थासहित गत भदौ २ गते अध्यादेश जारी भएको थियो।
राजनीतिक दल सम्बन्धी ऐनमा रहेको दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य हुनुपर्ने प्रावधान परिवर्तन गरी अध्यादेशमार्फत केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत हुनुपर्ने प्रावधान बनाइएको थियो। अध्यादेशको सुविधा उपयोग गरी नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन गरिएको छ।
तर अध्यादेश कायमै रहेको अवस्थामा जनता समाजवादी पार्टी पुनः फुट्ने चर्चा भइरहेको थियो। महन्थ ठाकुरको नेतृत्वमा भएको यसअघिको विभाजनका बेला जसपामै रहेकाहरुले मन्त्रिपरिषद् विस्तारका बेला अवसर नपाएमा कतिपय सांसद्ले पुनः विभाजन गर्ने तयारी गरिरहेको समाचार सार्वजनिक भइरहेका थिए। दल विभाजनको सम्भावना रहेकाले जसपाले सरकारमा सहभागी हुनका लागि अध्यादेश खारेजीको सर्त राख्दै आएको थियो।
जसपाकै दबाबपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।