काठमाडौं– कोरोना महामारीका कारण चीनमा इन्टर्नसिप पुरा गर्न नपाएका सन् २०१५ ब्याचका मेडिकल विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन्।
सरकारद्वारा सुझाव पेस गर्न गठित कार्यदलले सन् २०१५ ब्याचमा भर्ना भइ सैद्धान्तिक अध्ययन पुरा गरी इन्टर्नसिप पुरा गर्न नपाएका मेडिकल विद्यार्थीलाई नेपालमै इन्टर्नसिप अनुमति प्रदान गर्न सुझाव दिने निर्णय गरेको हो।
सो कार्यदलले सन् २०१५ ब्याचमा भर्ना भइ सैद्धान्तिक अध्ययन पुरा गरी इन्टर्नसिप लगायतका कोर्ष बाँकी रहेका विद्यार्थीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा मन्त्रालय अन्तर्गतका अस्पतालमा प्रयोगात्मक अभ्यास गर्न अनुमति प्रदान गर्न स्वास्थ्य मन्त्रालयमा लेखि पाउने निर्णय गरेको छ।
उक्त निर्णयका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाएको छ। शिक्षा मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार कार्यदलको निर्णयको जानकारी स्वास्थ्य मन्त्रालयलाई गराइएको शिक्षा मन्त्रालयका कर्मचारीले जानकारी दिए।
सन् २०१५ ब्याचमा भर्ना भइ आवेदन गर्न बाँकी विद्यार्थीहरुलाई इन्टर्नसिपका लागि शिक्षा मन्त्रालयमार्फत् आवेदन माग गर्ने निर्णय समेत कार्यदलले गरेको छ।
यस्तै, सन् २०१६ ब्याचमा भर्ना भइ अध्ययन पूरा गर्न नसकेका विद्यार्थीहरुलाई नेपालमा अध्ययन अनुमति प्रदान गर्नका लागि के–कस्तो व्यवस्था गर्न सकिन्छ, सो विषयमा सरोकारवाला निकायसँग अन्तर्क्रिया गर्ने निर्णय समेत कार्यदलले गरेको छ।
चीनमा एमबीबीएस अध्ययन गरिरहेका नेपाली मेडिकल विद्यार्थीहरु कोरोना महामारीका कारण अध्ययन पूरा गर्न सकेका छैनन्। इन्टर्नसिप गर्न नपाउँदा समस्यामा परेको भन्दै उनीहरुले पटक पटक नेपाल सरकारको ध्यानाकर्षण समेत गराउँदै आएका थिए।
कोभिडका कारण नेपालमै बस्न बाध्य रहेका उनीहरुलाई नेपालमै इन्टर्नसिप गराउने व्यवस्था मिलाउने विषयमा अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको थियो।
मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा बसेको बैठकले गत भदौ २३ गते प्राडा दिलिप शर्माको संयोजकत्वमा सो कार्यदल गठन गरेको थियो।
उक्त कार्यदलमा संयोजक प्राडा शर्मासँगै सदस्यहरुमा प्राडा दिव्यासिंह शाह, प्राडा राजेन्द्र कोजु, डा लोचन कार्की, डा हरि प्रसाद लम्साल, डा मदन कुमार उपाध्याय र डा कृष्ण प्रसाद अधिकारी सदस्य छन्।
यसअघि सन् २०१४ ब्याचका विद्यार्थीले नेपालमा नै इन्टर्नसिप गर्न पाउने निर्णय भइसकेको छ। सो निर्णयानुसार प्रक्रिया अगाडि समेत बढिसकेको छ।
नेपालमा इन्टर्नसिपको माग गर्दै विद्यार्थीहरुले लामो समयदेखि आन्दोलन समेत गर्दै आएका थिए। सोमबार पनि नेपाल मेडिकल काउन्सिल परिसरमा विद्यार्थीले धर्ना दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।