काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपालको पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन सिर्जनात्मक तरिकाले अघि बढ्नुपर्ने बताएका छन्। विश्व पर्यटन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हु्न्।
सचिव कोइरालाले नेपालजस्तो विविधताले भरिपूर्ण देश संसारमा कतै नभएको भए पनि नेपाली पर्यटन व्यवसायीहरुले अन्तर्राष्ट्रियस्तरमा नेपालको बारेमा प्रचार गर्न नसकेको बताए। उनले पर्यटन व्यवसाय बचाउनका लागि भए पनि प्रचार गर्न आवश्यक रहेको बताए। काठमाडौं र पोखरामा मात्रै पर्यटन विकास गरेर राष्ट्र उन्नतिको बाटोमा नजाने भन्दै उनले दुर्गम गाउँमा पर्यटन सञ्चालन गर्नुपर्नेमा जोड दिए।
गत वर्षदेखि नै सरकारले क्यासिनो भिलेजको योजना बनाएको बताउँदै सचिव कोइरालाले हिल स्टेसन र क्यासिनो भिलेज खोलेर पर्यटक भित्र्याए विदेशी डलर कमाउन पर्यटक खोज्दै हिँड्नुनपर्ने बताए। उनले अमेरिकाको भिसा लिन नेपालीहरु चार घण्टा कुर्नुपरेको बताउँदै अब अमेरिकीहरुलाई पाँच घण्टा कुराउनुपर्ने तरिकाले पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताए। निजी क्षेत्रको सहयोगमा सरकार यसरी विकास र प्रवर्द्धन गर्नका लागि सदैव तत्पर रहेको उनको भनाइ थियो।
सचिव कोइरालाले सरकारले ढिलै भए पनि 'अन-अराइभल' भिसा दिने निर्णय गरेकोले मिहेनत, लगनशील र धैर्यता राखेर काम गर्न सुझाव दिए। उनले सरकारले आन्तरिक पर्यटक प्रवर्द्धन नगरी देशअघि नबढ्ने भन्दै नीतिमा १० दिनको पर्यटक बिदा दिने भनेर राखेको जानकारी दिए।
हिल स्टेसन बनाउने योजना ल्याए पनि पर्यटन व्यावसायीहरुले चासो नदिएको गुनासो उनको थियो। पर्यटकको लागि निश्चित तोकिएको गन्तव्यलाई विकास गरेर मात्रै अर्को ठाउँलाई पर्यटकीय गन्तव्य बनाए सफल हुने बताउँदै उनले पर्यटन व्यवसायीहरु सरकारले बोलाएको स्थानमा गएर छलफल गर्न नजाँदा यी समस्याहरु देखिएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।