काठमाडौं– गाँजा माग्दा नदिएको भन्दै युवाको एक समूहले पशुपति मन्दिर परिसरमा एक ‘बाबा’माथि खुकुरी प्रहार गरेको छ।
खुकुरी प्रहारमा संलग्न भएको आशंकामा अहिलेसम्म १२ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी केशव भट्टराईले जानकारी दिए।
पशुपति मन्दिर परिसरको विश्वरुपा मन्दिर परिसरअघि सन्तोष ‘बाबा’माथि खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट घाइते उनलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ।
सुरुमा युवाहरुको समूहले बाबालाई 'माल (गाँजा) दे' भन्दै माग गरेका थिए। तर, उनले गाँजा नदिएपछि रिसको झोकमा युवाहरुले खुकुरी नै प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ।
आफूलाई 'सन्तोष बाबा' बताउने उनी विभिन्न ठाउँमा घुमन्ते रुपमा मागी हिँड्ने गरेका व्यक्ति भएको पाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।