काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अपरहणका एक अभियुक्तलाई १२ वर्षपछि पक्राउ गर्न सफल भएको भन्दै ठूलै तामझामसहित गत पुस १५ गते पत्रकार सम्मलेन गरेर एक जनालाई सार्वजनिक गर्यो।
भ्याली कोल्डस्टोरका सञ्चालक बाबुराजा रावलको अपहरण घटनामा अभियुक्तमध्ये एक ‘सोले र कुमार’ भनेर चिनिने दुर्गाबहादुर बुढाथोकीलाई प्रहरीले त्यतिबेला सार्वजनिक गरेको थियो। सीआईबीका डीएसपी अनिल घिमिरेको कमाण्डमा उनलाई दार्जिलिङबाट ल्याइएको भन्दै सीआईबीले त्यसबेला ठूलै प्रचार गरेको थियो।
तर, सीआईबीले ठूलो सफलता पाएको भन्दै प्रचार गरिएका उनै अभियुक्त करिब ९ महिनापछि असोज ५ गते निर्दोष भन्दै रिहा भएपछि सीआईबीदेखि महानगरीय प्रहरी परिसरको भूमिकामाथि प्रश्न चिह्न उठेको छ। रोचक त के भने देशभरका गम्भीर घटनाको अनुसन्धान गर्ने जिम्मा पाएको सीआईबीले अपहरणजस्तो जघन्य केशका अभियुक्त बुढाथोकीमाथि अनुसन्धान गर्न आवश्यक नै देखेन। सीआईबीका अधिकारी मुद्दा काठमाडौं परिसरमा दर्ता भएकाले उतै पठाइएको तर्क गर्दै पन्छिन्छन्।
तर, निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका अभियुक्तदेखि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार हत्यासम्मका घटनाका विषयमा अन्यत्र उजुरी र मुद्दा परेपनि यी केशमा सीआईबी आफैंले हिरासतमा लिएर अनुसन्धान गरेको थियो।
अझ सीआईबीले अन्यत्र हिरासतमा रहेकालाई समेत बोलाएर आफ्नै हिरासतमा राखेर अनुसन्धान गर्ने परिपाटी पनि रहेको एक पूर्वडीआईजी बताउँछन्। यति हुँदा पनि अपरहणजस्तो गम्भीर अपराधमा पक्राउ गरेर सार्वजनिक गर्नेबित्तिकै सीआईबीले अभियुक्त परिसरलाई जिम्मा लगाएर पन्छिएको देखिएको उनले बताए।
‘यो केशमा पक्राउ परेका बुढाथोकी अपहरणमा दोषी भइसकेका व्यक्ति होइनन्। उनीमाथि त अनुसन्धान नै हुन बाँकी नै थियो। तर, सीआईबीले यो केशमा फरार दोषी पक्राउ गरेझैं चर्चा बुटुल्न सार्वजनिक गर्ने र हतारमा परिसरलाई जिम्मा लगाएजस्तो देखिन्छ। यसमा सीआईबी चुकेको देखिन्छ’ ती डीआईजीले नेपाल लाइभसँग भने।
सीआईबीले बुढाथोकीलाई पक्राउ गरेर सर्वाजनिक गरेपछि परिसर काठमाडौंको जिम्मा लगाएको थियो। त्यसबेला काठमाडौं परिसरको कमाण्ड एसएसपी अशोक सिंहले सम्हालिसकेका थिए। श्रृंखलाबद्ध अपहरणमा संलग्न उदय सेठ्ठी र प्रह्लाद महतको एक सदस्य भनिएका बुढाथोकीको अनुसन्धान परिसरले गरेको थियो। करिब एक महिना लगाएर परिसरले जिल्ला सरकारी वकिलमा अपहरण तथा शरीर बन्धकको कसूरमा मुद्दा चलाउने रायसहित परिसरका इन्स्पेक्टर नानिकाजी थापाले फाइल पेस गरेका थिए।
अपहरणमा संलग्न दुर्गाबहादुरका बारेमा अपहरण स्वीकार गरेको भिडियो बयान बाहेक अन्य प्रमाण प्रहरीले पेश गरेको थिएन। त्यसबेला प्रहरीले दुर्गाबहादुरलाई पुपक्र्षका लागि जेल पठाएको थियो। तर, ९ महिनापछि उनै दुर्गाबहादुरले प्रहरीको गम्भीर लापरबाहीका कारण सफाइ पाएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले दुर्गाबहादुरलाई रिहा हुने फैसला दिएको थियो।
अदालतको फैसलापछि सीआईबीदेखि परिसर काठमाडौंसम्मको अनुसन्धानमा गम्भीर लापरबाही देखिएको छ। न्यायधीश निरौलाले सफाइ पाउनुको मुख्य तीन वटा कारण उल्लेख गरेका छन्– ‘पक्राउ परेका व्यक्ति दुर्गाबहादुर नै हुन् भन्ने प्रमाण नभएको, उनले आफू भारतीय नागरिक रहेको बताएको र सोही अनुसारको कागजात समेत पेस गरेको र अपहरणमा संलग्न भनिएका व्यक्तिले नै दुर्गाबहादुरलाई नचिन्ने बताएको।’
उनले भारतको राशन कार्डदेखि बर्थसर्टिफिकेटसम्म पेस गरेर आफू भारतीय नागरिक प्रकाश क्षेत्री भएको प्रमाण दिएका थिए। यता प्रहरीले सर्लाहीका दुर्गाबहादुर बुढाथोकी भनेपनि प्रमाण पेस गरेको थिएन।
‘अनुसन्धान बयानमुखि होइन प्रमाणमुखी हुनुपर्छ भन्ने अनुसन्धानकर्ताले बुझ्नुपर्ने हो। तर, यो केशमा बयानकै आधारमा मुद्दा चलाइएको बाहेक अन्य प्रमाण देखिएन। कतिसम्म भने कहाँको नागरिक हो? कसलाई मुद्दा चलाइएको हो? भन्नेसमेत हेक्का अनुसन्धानकर्ताले राखेनन्। त्यही कमजोरीको फाइदा अभियुक्तले उठाए’ पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्।
अपहरणकारी नै पक्राउ पर्दा समेत अनुसन्धानकर्ताले नेपाली नागरिक रहेको भन्ने समेत प्रमाण पेस नगर्दा उनी छुटे। सामान्य विषयमा समेत किन परिसर काठमाडौंले पुष्टि गर्न सकेन भन्ने प्रश्नमा परिसर काठमाडौंका अधिकारी भने औपचारिक रुपमा बोल्न चाँहदैनन्। परिसर प्रवक्ता, एसपी रमेश बस्नेत भन्छन्, ‘यो विषयमा म बोल्दिनँ।’
परिसरकै गम्भीर लापरबाहीका कारण अभियुक्त छुट्दा नबोल्ने भन्दै पन्छिएका अधिकारीहरूले अनौपचारिक रुपमा अदालतलाई दोष दिन्छन्। ‘जाहेरवालाले दुर्गाबहादुरले नै अपहरण गरेको भनेको छ। उसले पनि स्वीकार गरेको भिडियो बयान छ। यति हुँदा पनि उनी किन छुटे?’ परिसरका अधिकारी उल्टै प्रश्न गर्छन्।
अझै परिसर सीआईबीलाई समेत दोष देखाएर आफू पन्छिने गरी जवाफ दिन्छ ‘हामीलाई मान्छे पठाउँदा सबै अपहरण सबै स्वीकार गरिसकेको छ भन्ने थियो। नेपाली ठेगाना कहाँ होे, पुष्टि गर्नुपर्ने भन्ने नै थिएन’, दोष सीआईबीको टाउकामा हाल्दै परिसरका अधिकारी भन्छन्, ‘पुरानो केश भएको र यसका अन्य अभियुक्तहरू पनि जेल चलान भइसकेकाले सोही घटनामा जोडेर लगिएको हो।’
यसरी अनुसन्धान गर्ने निकायले नै यस घटनामा एउटाले अर्कालाई दोष दिएर उम्कने गरेका छन्। यसबारे नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी वसन्त कुँवर भने प्रहरीको केही कमजोरी भएको स्वीकार गर्छन्। ‘प्रहरीको केही कमजोरी त देखिन्छ। यस विषयमा खास भएको के हो भन्ने बारे हेडक्वार्टरले बुझ्ने काम सुरु गरेको छ।’
बुढाथोकी को हुन्?
प्रहरी दाबी अनुसार पक्राउ परेका अभियुक्तले आफू दुर्गाबहादुर बुढाथोकी नभएर प्रकाश क्षेत्री भएको दाबी अदालतमा पेस गरे पनि उनी अपरहणमा संलग्न दुर्गाबहादुर बुढाथोकी नै हुन्।
उनी सर्लाहीका स्थानीय हुन्। सर्लाहीकै भएकाले बुढाथोकीको अपहरणका अर्का नाइके प्रल्हाद मतहसँग राम्रै चिनजान थियो। त्यसबेला बुढाथोकीको पेसा थियो, चोरी। मोटरसाइकल चोरी गर्ने र प्रल्हादको समूहलाई दिने गर्थे बुढाथोकी। बानेश्वरस्थित एभरेस्ट होटलको पार्किङबाट मोटरसाइकल चोरी गरेपछि २०६४ वैशाख २५ गते पहिलोपटक बुढाथोकी पक्राउ परेका थिए।
पक्राउपछि महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएका उनी हिरासतको ग्रिल नै फोडेर फरार हुन सफल भएका थिए। उनै मोटरसाइकल चोरीको काम गर्ने बुढाथोकी प्रल्हादमार्फत् अपहरणको धन्दासम्म पुगेको पाइएको प्रहरीको दाबी छ।
माओवादी द्वन्द्व सकिएपछिका केही वर्ष भने नेपालमा अपहरणजस्ता जघन्य अपराधको ग्राफ उकालोलाग्दो थियो। बाबुराजाको अपहरण हुनभन्दा झण्डै एक वर्षअघि अपहरणका मुख्य नाइके अमर टण्डन पक्राउ परिसकेका थिए। उनी पक्राउ परेपनि उनका सहयोगी उदय सेट्टीले अपहरणको धन्दालाई जारी राखेका थिए।
२०६५ पुस १ गते भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरण भएको थियो। मारुती गाडीमा हालेर ४÷५ जनाको समूहले मुखमा पट्टी बाँधेर रावलको अपहरण गरेको थियो। पछि अपहरणमा प्रयोग भएको मारुती भ्यान कान्ति बाल अस्पतालको पार्किङबाट प्रहरीले बरामद गरेको थियो। यो अपहरणबारे प्रहरीले त्यसबेला मात्रै थाहा पायो, जति बेला बाबुराजा अपहरणमुक्त भइसकेका थिए।
यही अपहरण घटनाको अनुसन्धानका सिलसिलामा अपहरणकारीका नाइके भारतीय नागरिक उदय सेट्टीलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको थियो। ‘अपहरणका मुख्य नाइके सेट्टी भएकाले उनैको टिमले बाबुराजाको अपहरण गरेको हुनुपर्छ भन्ने हाम्रो विश्लेषण थियो,’ एक पूर्व प्रहरी निरीक्षक भन्छन्, ‘तर पछि बाबुराजाको अपहरणमा सेट्टीको संलग्नता नरहेको पाइयो। सेट्टीले बाबुराजाको अपहरण अस्वीकार गरेका थिए।’
प्रहरीको अनुसन्धानका क्रममा सेट्टीले नै बाबुराजाको अपहरणमा प्रल्हादको संलग्नता हुन सक्ने बताएका थिए। त्यसअघिसम्म प्रल्हादबारे प्रहरी अनविज्ञ थियो। एक पूर्व प्रहरी निरीक्षक भन्छन्, ‘सेट्टीले नै प्रल्हादको नाम लिएपछि बाबुराजाको अपहरणको गुत्थी खुलेको थियो।’
प्रल्हाद सुरु सुरुमा सेट्टीकै समूहमा रहेर अपहरणको धन्दा चलाउँथे। अपहरणमा प्रयोग हुने चोरीका गाडी, मोटरसाइकल प्रल्हादले हाल जिल्ला दालतको आदेशबाट छुटेका बुढाथोकीमार्फत बन्दोबस्त गर्थे।
प्रल्हाद पनि यसअघि नै चोरीको मोटरसाइकलसहित पक्राउ परिसकेका व्यक्ति हुन्। सेट्टीले प्रल्हादको नाम लिएपछि प्रहरीलाई महत्वपूर्ण क्लु फेला परेको थियो। त्यसपछि सेट्टीमार्फत् नै प्रहरी प्रहादसम्म पुगेको थियो।
त्यसपछि बाबुराजाको अपहरणमा प्रल्हादसँगै विष्णु जिसी, सोले र कुमार भन्ने दुर्गा बहादुर बुढाथोकी, बंगुरे भन्ने विकास कार्की, सोल्टी भन्ने टासी गुरुङ, विनोद कार्की, अनिल गुरूङको संलग्नता रहेको खुलेको थियो।
फिरौतीबापतको केही रकम बुढाथोकीले पनि लिएको प्रहरी दाबी छ। उक्त रकम लिएर फरार भएका उनी भारत छिर्न सफल भएका थिए। १२ वर्षदेखि भारतमा लुकेर बस्दै आएका बुढाथोकी आफ्नो परिचय बदलेर बसेका थिए। दार्जिलिङमा प्रकाश क्षेत्री नामले परिचित बुढाथोकीले सोही नामबाट राशन कार्डसमेत लिइसकेका थिए।
प्रकाश क्षेत्री नामकै कपडाको होलसेल पसल सञ्चालन गरेर बसेका उनलाई दार्जिलिङबाट पक्राउ गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।