काठमाडौं– मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आज (आइतबार)देखि खुला गरिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो। महामारीको जोखिम बढेको भन्दै गत वैशाखदेखि मन्दिर बन्द गरिएको थियो।
मुक्तिनाथ विकास समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले मापदण्ड तोकेर बाहिरी जिल्लाका तीर्थयात्री र भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा खुलाइएको बताए।
बडादशैँको सोह्रश्रद्धामा कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन पुग्ने गर्छन्। कोरोना संक्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा गरिएको निषेधाज्ञा पाँच महिनापछि गत भदौ २३ गतेदेखि खुलाइएको थियो।
निषेधाज्ञा र मुक्तिनाथ खुलेसँगै निषेधाज्ञाले थला परेको मुस्ताङका होटल र पर्यटन व्यवसाय चलायमान, जनजीवन सहज र विकास निर्माणले गति लिने अपेक्षा गरिएको छ। मुक्तिनाथ र पर्यटकीयस्थल खुलाएपछि सडक र हवाईमार्ग भएर मुस्ताङ जानेहरुको चहलपहल बढेको छ। कोरानाका कारण मुक्तिनाथ मन्दिर नजिकैको रानीपौवाका सातसहित मुस्ताङमा १५ जनाले ज्यान गुमाएका छन्।
समुद्री सतहदेखि तीन हजार ७१० मिटरको उचाइमा रहेको मुक्तिनाथलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।