काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेश भण्डारीको टोलीबीच भेटवार्ता भएको छ।
शनिबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न डा भण्डारीसहितको टोली बालुवाटार पुगेको थियो। शिक्षण अस्पतालमा शुक्रबार छैटौं व्यक्तिको कलेजो प्रत्यारोपण गरिएसँगै चिकित्सकहरुको टोलीले प्रधानमन्त्री देउवासँग छलफल गरेको हो।
डा भण्डारीको टोलीले हिजोसम्म भएका ६ वटा कलेजो प्रत्यारोपण र आगामी योजनाका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको थियो।
त्यसक्रममा प्रधानमन्त्री देउवाले कलेजो तथा अन्य अंग प्रत्यारोपण सेवाको विकास र विस्तारमा सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
शुक्रबार छैटौं प्रत्यारोपण गर्नेक्रममा काठमाडौंका एक ३६ वर्षीय श्रीमानका लागि ३१ वर्षीया श्रीमतीले कलेजो दिएकी हुन्। शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरू भएयता यसअघि ५ जनाको सफल प्रत्यारोपण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।