काठमाडौं- गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेसँगै यतिबेला सामाजिक सञ्जालमा उनी चर्चामा छिन्।
रियालिटी शो नेपाल आइडलमा जजको भूमिकामा रहेसँगै थप चर्चा कमाएकी जोशीको विवाहका बारेमा मनोरञ्जन क्षेत्रमा चर्चा चल्ने गरेको थियो।
कार्यक्रमकाबीच नै उनीमाथि विवाहलाई जोडेर व्यङ्ग्य हुने गरेको थियो तर अब त्यो समस्या समाधान हुने भएको छ। जोशी अब नयाँ रियालिटी शो 'सारेगमप लिटल च्याम्प' मा जजको भूमिकामा हुने छिन्।

जोशीले पूर्वनिर्धारित नभइ अप्रत्याशित रुपमा इन्गेजमेन्ट गरेको प्रतिक्रिया दिएकी छिन्।
जोशीले प्रेमी शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्। बिहीबार खुम्बु क्षेत्र पुगेर उनीहरुले इन्गेजमेन्ट गरेका हुन्।

बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन खुम्बु पुगेकी उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्। हेलिकप्टरमा खुम्बु पुगेका उनीहरूले उत्रिनेबित्तिकै इन्गेजमेन्ट गरेका थिए। खुम्बु पुगेपछि शरदले प्रपोज गरेको र त्यसलाई आफूले अस्वीकार गर्न नसकेको नेपाल लाइससँग बताइन्।
‘हिमालमा पुगेपछि उहाँले मलाई प्रपोज गर्नुभयो। मैले हुन्छ भनिदिएँ’ जोशीले भनिन्।
हेलिकप्टरका पाइलटले शरदले प्रपोज गरिरहेको भिडियो खिचेर हालिदिएपछि सार्वजनिक भएको उनको भनाइ छ। हेलिकप्टरको क्याप्टेनले भिडियो हालेको आफूले आज बिहान मात्रै थाहा पाएको इन्दिराको भनाइ छ। ‘हिजै बेलुका उनले भिडियो हालेका रहेछन्,’ उनले भनिन्, ‘मैले पनि बिहान थाहा पाएँ। भाइरल भइसकेको रहेछ।’
इन्दिरा र शरद लामो समयदेखि प्रेम सम्बन्धमा थिए।
जोशीका चौबन्दी चोली अनि रातो घांगर, बेहुली, उध्रेको चोली, मरी लानु के छ र?, माग्ने बनायो, रुझु रुझु लगायतका गित चर्चित छन्।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।