काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले दसैं, तिहारलगायत चाडपर्वमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन तीब्र पार्न निर्देशन दिएका छन्।
बिहीबार गृह मन्त्रालयमा बसेको बैठकमा मन्त्री खाणले महँगी र कालोबजारीका अतिरिक्त म्याद गुज्रेका खाद्य सामाग्री तथा औषधिको विक्री वितरण गरेको पाइएमा कडा कारवाही गर्न निर्देशन दिए।
आम नेपाली नागरिकको हित र जीवन रक्षा सरकारको प्रमुख दायित्व रहेको बताउँदै उनले चाडपर्वको मौका छोपी नागरिकको स्वास्थ्य र जीवनसँग खेलाची गर्नेलाई कडा कारवाही गर्न निर्देशन दिएका हुन्।
गृह प्रशासनअन्तर्गत तीनवटै सुरक्षा संगठनका प्रमुख, उपत्यकाको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवसायी र उपभोक्ता अधिकारकर्मीलगायत सम्वद्ध अधिकारी सहभागी बैठकमा मन्त्री खाणले उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापन र यातायात सेवा सहजीकरण गर्नसमेत निर्देशन दिए।
चाडपर्वको समयमा उपभोग्य वस्तु सुपथ मूल्यमा बेच्नसमेत उनले व्यवसायीलाई आग्रह गरे। ‘अन्य बेलामा जस्तो नाफा नलिई सुपथ मूल्यमा सामाग्री विक्री गर्न व्यवसायीलाई मेरो आग्रह छ,’ मन्त्री खाणले भने, ‘अनुगमनका क्रममा बढी मूल्यमा बेचेको पाइएमा कडा कारवाही हुन्छ।’
वर्षातका कारण भत्किएको सडकहरु दसैँअघि मर्मत गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी तत्कालै बजेट छुट्याउन आग्रह गरेको उनले बताए।
चाडपर्वमा बजार व्यवस्थापनका लागि सुरक्षाकर्मी, उपभोक्ता–अधिकारकर्मी र व्यवसायीहरुबीच त्रिपक्षीय सम्बन्ध जरुरी रहेको गृह सचिव टेकनारायण पाण्डेले बताए।
त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले चाडपर्वका बेला म्याद गुज्रिएका सामाग्री विक्री वितरण गरेको पाइएमा सशक्त कारबाहीको चेतावनी दिए।
वस्तुको गुणस्तरमा पनि कुनै कमजोरी भएको पाइएमा कारवाही हुने जानकारी दिनुहुँदै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले वस्तुको आपूर्ति व्यवस्थापन र कालोबजारी विरुद्ध अनुगमन तीब्र पारिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।