काठमाडौं– सञ्चारकर्मी रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधान धरौटीमा रिहा भएकी छन्।
जातीय विभेद तथा छुवाछुतजन्य कसूर गरेको भन्दै दायर भएको मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद सुवेदीको इजलासले १ लाख १५ हजार रुपैयाँ धरौटी माग गर्ने आदेश जारी गरेको हो।
इजलासको आदेशानुसार प्रधान धरौटी बुझाएर रिहा भएकी काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए।
सञ्चारकर्मी सुनारले प्रहरीमा दिएको जाहेरीअनुसार भएको अनुसन्धानको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले केही दिन अगाडि काठमाडौं जिल्ला अदालतमा प्रधानविरुद्ध मुद्दा दायर गरेको थियो।
बुधबार घरभेटी प्रधान अदालतमा हाजिर भएपछि उनको बयान लिइ थुनछेक बहस भएको थियो। बुधबार नै बहस सकेर अदालतले धरौटीमा रिहा हुने आदेश जारी गरेको हो।
गत असार १ गते कोठा भाडामा लिनका लागि गएकी सुनारले आफू दलित (कामी) भएको भनेपछि घरभेटी प्रधानले कोठा भाडामा दिन अस्वीकार गरेकी थिइन्।
त्यसपछि सुनारले प्रधानविरुद्ध महानगरीय प्रहरी बृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन्। सुनारले जाहेरी दिएपछि प्रहरीले प्रधानलाई पक्राउ गरेको थियो। तर, तत्कालीन शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ समेतको दबाबमा उनी थुनामुक्त भएकी थिइन्।
पछि सुनारले रुपाले घरबेटी प्रधानसहित तत्कालीन शिक्षामन्त्री श्रेष्ठलाई समेत विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। रुपाको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले सुनारको जाहेरीका सन्दर्भमा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न प्रहरीका नाममा आदेश जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।