काठमाडौं– गुन्डागर्दीको आरोपमा प्रहरीले गोली हानेर पक्राउ गरेका अशोक लामासँग पेस्तोल र गोली बरामद भएको छ। एउटा पेस्तोल र दुई राउन्ड गोली बरामद भएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
प्रहरीको गोली लागेका लामालाई वीर अस्पतालमा भर्ना गरिएको छ। उनको दायाँ खुट्टाको पिँडौलामा एउटा गोली लागेको छ।
ललितपुरको युनपार्क नजिकै पक्राउ गर्न खोज्ने क्रममा भाग्न खोजेपछि गोली हानिएको महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले बताए।
को हुन् लामा ?
लामा करिब एक दशकदेखि गुन्डागर्दीमा सक्रिय व्यक्ति हुन्। प्रहरीका अधिकारी यसअघि उनले २ जनाको हत्या प्रयास गरेका थिए। जसमा पक्राउ परी उनी छुटेका हुन्। सार्वजनिक अपराध मुद्दामा पनि पटक पटक पक्राउ परेका थिए।
उनी काभ्रेली समूहनिकट व्यक्ति हुन्। ललितपुरका व्यवसायीहरुलाई उनले धम्काएर पैसा उठाउने गरी उजुरी आएको एसएसपी सिंहले बताए। उनी पछिल्लो समय दावा लामासँग मिलेर जुवा खेलाउने व्यक्ति समेत भएको प्रहरी अधिकारीहरु बताउँछन्।
ललितपुरका व्यवसायीहरुले उनी विरुद्ध उजुरी गरेका थिए। सोही आधारमा प्ररहीले उनको खोजी गरेको थियो। पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै पेस्तोल देखाएर आक्रमणको प्रयास गरेर भाग्न खोजेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीमाथि प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा चलाउने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।