काठमाडौं– असनका भरियाहरुको दुई समूह छ, स्थायी र अस्थायी। बाह्रैमासा काम गर्ने स्थायी हुन्। चाडबाडको बेला मात्र भारी बोक्न आउने अस्थायी।
दशैँ नजिकिएपछि सर्वसाधारणलाई किनमेल गर्न भ्याइनभ्याइ हुन्छ। त्यही कारण असनमा भिडभाड बढ्छ। बाहिरबाट आउने सामानको चाप पनि बढ्ने भएकाले अस्थायी भरिया यही बेला आइपुग्छन्। काभ्रेका इन्द्रबहादुर तामाङ यहाँका अस्थायी भरिया हुन्।
उनी बाह्रैमास भारी बोक्दैनन्। गाउँमा खेतीपाती छ। परिवार गाउँमै छन्। दशैँको बेला मात्र यता आउँछन्। ‘दशैँमा भारी बोक्न पाइने हुनाले चाडबाडको खर्च जुटाउन यता आउँछु,’ उनी भन्छन्, ‘अरु बेला गाउँमै खेतीपाती र मेला जान्छु।’
तर, यसपटक उनले भारी बोकेर पहिलाजस्तो कमाउन सकेका छैनन्। ‘पहिले काम भ्याई नभ्याई हुन्थ्यो। टाउकोबाट नाम्लो हट्दै हट्दैनथ्यो,’ उनले भने, ‘अहिले नाम्लो काँधमा झुन्डिएको छ।’ लकडाउनपछि भारी बोकेर कमाइ हुन छाडेको उनी बताउँछन्।
अस्थायी भरियालाई स्थायीको जस्तो ‘सहज’ छैन। स्थायीका आफ्ना साहु हुन्छन्। काम भए साहुले खबर गर्छन्। उनीहरुले नभ्याउने भए मात्र अस्थायीलाई दिन्छन्।
दशैँ नजिकिँदै गर्दा ठेलमठेल हुन थालेको असनको साँघुरो गल्लीमा भेटिए, कुशल सुवेदी। भर्खर २१ वर्ष पुगेका कुशलले भरिया काम थालेको चार वर्ष भइसक्यो। उनलाई यसपटकको दशैँ पनि गत वर्षको जस्तै खल्लो हुने हो कि भन्ने चिन्ता छ।
कोरोना महामारीका कारण बजार बन्द हुँदा पोहोर उनले मनग्गे कमाइ हुने गरी भारी बोक्न पाएनन्। अनि त दशैँमा पनि मन खोलेर खर्च गर्न सकेनन्। यसपालि पनि त्यस्तै पो हुने हो कि, अझै टुङ्गो लागेको छैन।
उनले डेढ वर्षअघि भएको लकडाउनपछि भारी बोक्न पाएका थिएनन्। कामविहीन भएर घरैमा बस्नुपर्यो। उनी मात्र होइन, उनका बाबु पनि कामविहीन भए। बाबुछोरा नै असनमा भारी बोक्छन्। बाबु असनका स्थायी भरिया हुन्। कुशल भने पढाइ छाडेर कमाउनकै लागि दोलखाबाट बाबुसँग शहर पसेका हुन्।
यसपालि पोहोरभन्दा अलि फरक छ। असनमा भिड सुरु भइसकेको छ। बाबुछोराले भारी बोक्न पनि पाइरहेका छन्। दशैँ नजिकिएपछि कमाइ केही बढेको छ। ‘पोहोर त दशैँ आएको र गएको नै पत्तो भएन,’ कुशल भन्छन्, ‘भारी बोक्न पाए पो आम्दानी पनि हुन्छ, दशैँमा खर्च गर्न पनि पाइन्छ। भारी नै बोक्न नपाएपछि के दशैँ आउँछ?’
भारी बोक्न पाइरहे पनि यसपालि अघिअघिजस्तो कमाइ भने नभएको उनी बताउँछन्। कोरोना महामारीअघि दशैँताका दैनिक दुई हजारदेखि २५ सय रुपैयाँसम्म कमाइ हुन्थ्यो। ‘यसपालि त सात आठ सय छ। त्यैपनि लकडाउनमा जस्तो खाली बस्नु परेको छैन,’ उनी सन्तोष जनाउँछन्।
असनमा व्यापार ठप्पजस्तै हुँदा त्यसको मारमा व्यापारी मात्र थिएनन्, त्यसैमा आश्रित भरिया पनि थिए। व्यापार चम्किँदा नै उनीहरुले काम पाउने हुन्। दशैँका लागि हुने खर्च उनीहरुले भारी बोकेरै जुटाउनुपर्छ।
दोलखाको कालिञ्चोक घर भएका शम्भु कटुवाल पनि स्थायी भरिया हुन्। उनले भारी बोक्न थालेकै २० वर्ष भयो। काम भएको बेला साहुले बोलाउँछन्। अरुले बोलाए पनि भारी बोक्न पुगिहाल्छन्।
यसपटक पोहोरजस्तो खाली बस्नु परेन। तर, कमाइ पनि उस्तो छैन। ‘पहिले सिजनको बेला काम मारामार हुन्थ्यो, खाना नखाएर भारी बोक्ने गरिन्थ्यो,’ उनी भन्छन्, ‘यसपटक कमाइ छैन, काम भने पाइएको छ। यसरी त दशैँ खोइ के मनाइएला र?’
हुन त भरियाको कमाइ निश्चित हुँदैन। काम भएको दिन पैसा हुन्छ, काम नभएको दिन रित्तो हात। कामको चाप बढे मूल्य पनि बढाउन पाइन्छ, चाप कम भए हानथापले मूल्य पनि कम हुन्छ। महामारीअघि शम्भु दैनिक दुईदेखि तीन हजार कमाउँथे। अहिले ५०० देखि एक हजारसम्म मात्र कमाइ हुने बताउँछन्।
दशैँ नजिकिँदै गर्दा व्यापार खुलेको अर्का भरिया दीपक तामाङको अनुभव छ। दुई वर्षपछि बल्ल उनको कमाइ बढेको छ। ‘यसपटक भारी बोक्न पाइएको छ, दशैँ केही राम्रो होला,’ उनले भने, ‘पोहोर भारी बोक्न पाइएन, दशैँमा उल्टै ऋण लाग्यो।’
तर, उनलाई फेरि कोरोना महामारीको पारो उभोँ उक्लिएला भन्ने चिन्ता छ। त्यसो भयो भने बजार बन्द हुन्छ। अनि फेरि कामै नपाइने डर छ। ‘दुई वर्षपछि बल्ल कमाइ हुन थालेको छ। अब चाडबाडपछि महामारी बढ्यो भने लकडाउन भएर काम नपाइने हो कि भन्ने चिन्ता छ,’ उनी भन्छन्।
अस्थायी भरिया इन्द्रलाई भने यसपालिको दशैँको मात्र चिन्ता छ। चाडबाडपछि महामारी बढे गाउँमै बस्ने नत्र हिउँदमा खेतीपाती नहुने हुँदा फेरि भारी बोक्न आउने उनी बताउँछन्। ‘यसपालीको दशैँ पोहोरको भन्दा त राम्रै होलाजस्तो छ,’ उनी भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।