काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मिर्गौला प्रत्यारोपणका लागि दुई वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले नेपालमा प्रत्येक वर्ष ३ हजार मानिसको मिर्गौला फेल भएको विवरण आइरहेको भन्दै पाँच वटा मात्रै उपचार गर्ने अस्पताल भएकोले किड्नी ट्रान्सप्लान्ट गर्नका लागि पनि २ वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताए।
उनले डायलासिस गर्नका लागि आवश्यक्ता अनुसारको सर्भिस सेन्टर नपुगेको जानकारी दिए। उनले जिल्लादेखि प्रदेशसम्म डायलासिस सेन्टर बनाउनुपर्ने र यसलाई सर्वसुलभ बनाउनुपर्ने बताए। सरकारले थोरैमा दुई सयदेखि तीनसय वटा डायलासिस सेन्टर बनाउनुपर्ने योजना बनाएको पनि उनले जानकारी दिए।
राज्यमन्त्री श्रेष्ठले मिर्गौलाको समस्या र क्यान्सरजस्ता रोगहरुको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्ने पनि चिन्ता व्यक्त गरे।
सरकारी अस्पताललाई अब पनि सुधार गर्न नसके ठूलो दुर्घटना हुने उनको चेतावनी छ। अप्रेसन गर्नका लागि दुई वर्ष कुर्नुपर्ने बाध्यता रहेको बताउँदै राज्यमन्त्री श्रेष्ठले अप्रेसन सेन्टर पनि बढाउने सरकारको योजना रहेको जानकारी दिए। उनले ट्रान्सप्लान्ट र डायलासिसमा ६ महिनाभित्र ठूलो परिवर्तन हुने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।