काठमाडौं- नेपाली कला क्षेत्रमा एउटा विवादित विषय हो– महानायकको उपाधी। केही वर्ष यता हरेक साल यो विवाद चर्किरहेको छ। गत वर्ष कलाकार एवं निर्देशक दिपाश्री निरौलाले राजेश हमाल ‘महानायक’ नभएको भनेपछि यो विवाद आएको थियो।
केही दिनअघि एक कार्यक्रममा भुवन केसीले अर्का अभिनेता शिव श्रेष्ठलाई महानायकको उपाधी दिए। सँगै अभिनेत्री गौरी मल्ललाई महानायिका पनि घोषणा गरियो त्यही कार्यक्रममा।
यसअघि पनि राजेश हमाल महानायक र करिश्मा मानन्धर महानायिका हुन् भन्ने घोषणा कला क्षेत्रकै मान्छेहरुबाट भइरहेको थियो। करिश्माले पनि आफू महानायिका भएको भन्दै फेसबुकमा पोष्टसँगै ह्यासट्याग राखेकी छिन्।
यो वर्ष फेरि विवादमा आएको ‘महानायक’ र ‘महानायिका’को उपाधीलाई लिएर अहिले चर्चा भइरहेको छ। तर, यसअघि महानायक भनिएका राजेश हमाल भने चुपचाप बसेका थिए।
हमालले हालसालै यो विषयसँग सम्बन्धित हुने मौनता तोडेका छन्। सामाजिक सञ्जालमा उनले मंगलबार पोष्ट गर्दै, ‘आफ्नो कामले आफ्नो लागि बोलिदेओस्’ लेखेका छन्।
हमालले प्रत्यक्ष रुपमा उपाधीको विवादलाई सम्बोधन नगरेपनि विवाद चर्किरहेको बेला यस्तो पोष्ट गरिनु सोहीप्रति लक्षित भएको हुनसक्ने अनुमान गरिएको छ। उनले फेसबुकमा लेखेका छन्, ‘कर्म सही गर, फल प्राप्त हुनेछ। आफ्नो कामले आफ्नो लागि बोलिदेओस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।