काठमाडौं- दक्षिण एशियाली सहयोग संगठन (सार्क) देशका विदेश मन्त्रीस्तरीय बैठक रद्द भएको छ।
सार्क देशका विदेश मन्त्रिहरुको अनौपचारिक बैठक २५ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभाको ७६ औं सत्रको 'साइडलाइन' बैठक अमेरिकामा हुने तय भएको थियो।
पाकिस्तानले तालिबानका प्रतिनिधिलाई पनि बैठकमा सहभागी गराउनुपर्ने सर्त राखेसँगै उक्त अनौपचारिक बैठक रद्द भएको दाबी भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले गरेको छ।
सार्कको अध्यक्षता गरिरहेको नेपालले सबै सदस्य राष्ट्रहरुबीच सहमति जुट्न नसक्दा बैठक रद्द गरिएको जनाएको छ।
परराष्ट्र मन्त्रालयले सार्क राष्ट्रहरुलाई पत्र पठाउँदै सबै राष्ट्रहरुबीच सहमति जुट्न नसक्दा निर्धारित कार्यक्रम रद्द गरिएको जनाएको हो।
भारतीय सञ्चार माध्यमहरुले भने सार्कका अधिकांश सदस्य देशले अनौपचारिक बैठकमा तालिबान सरकारका तर्फबाट अफगानिस्तानको प्रतिनिधित्व गर्ने अनुमति दिन पाकिस्तानले गरेको अनुरोधमा विचार गर्न इन्कार गरेका कारण बैठक रद्द गरिएको दाबी गरेका छन्।
तालिबानले १५ अगस्टमा अफगानिस्तानमा कब्जा जमाएको थियो।
१९८५ मा गठन भएको सार्कमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्स सदस्य राष्ट्र रहेका छन्। अफगानिस्तान सार्कको नयाँ सदस्य राष्ट्र हो।
विदेशमन्त्री स्तरीय बैठकमा भाग लिनका लागि कांग्रेस नेता नारायण खड्का परराष्ट्र मन्त्रीको शपथ लिएर आजै अमेरिका जाने तयारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।