काठमाडौं– राष्ट्र निर्माण र समृद्धिमा सबैबीच एकता हुनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। सामाजिक सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले मानवीय सेवाभावले गरिने कार्यका लागि आवश्यक सहयोग गर्न सरकार सदैव तत्पर रहने प्रतिबद्धतासमेत व्यक्त गरेका हुन्।
गरिबी निवारण, सामाजिक न्याय, समानता, समता र मानव अधिकारजस्ता अवधारणालाई आत्मसात् गर्दै समाज सेवालाई अनुभूत हुने गरी कार्यान्वयन गर्ने दिशामा अग्रसर हुनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
आगामी दिनमा सङ्घ प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा समाज रूपान्तरणको कार्यक्रमलाई राष्ट्रिय प्राथमिकता अनुकूल बनाउँदै राष्ट्र निर्माणमा सहकार्य गरिनुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिएका छन्।
‘सर्वजन हिताय सर्वजन सुखाय’ भन्ने पूर्वीय दर्शनको सार नै सामाजिक सेवाभाव रहेको भन्दै उनले दिगो विकासको लक्ष्यमा साझेदारीको विषयलाई प्राथमिकताका साथ अघि सारिएको अवस्थामा यस वर्षको सामाजिक सेवा दिवस राष्ट्र निर्माणमा विकासका लागि साझेदारी गर्न सफल हुने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका छन्।
असोज ६ गते सामाजिक सेवा दिवस मनाउने गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।