फाइल तस्वीर
काठमाडौं– यो वर्ष दसैंतिहारलगायत चाडपर्वमा आवश्कता अनुसार फूलको व्यवस्थापन गर्न नसकिने व्यवसायीहरुले बताएका छन्। कोरोना महामारीका कारण गरिएको निषेधज्ञाले फूल (पुष्प) व्यवसाय धराशयी भएकाले फूल खेती कमी भएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए।
उत्पादनमा कमी हुने भएकाले पर्याप्त माग अनुसार आपूर्ति गर्ने अवस्था नभएको उनको भनाइ छ। ‘बजार अभाव र मजदूर समस्याका कारण २५ प्रतिशत उत्पादनमा कमी आउने भएकाले फूलको माग पूरा गर्न सक्ने अवस्थामा हामी छैनौं,’ उनले भने।
सरकारसँग बीमाको व्यवस्था र नीति नियमलाई प्रभावकारी बनाएर व्यवसायलाई सुरक्षित बनाउन माग गरे पनि सुनुवाइ नभएकाले व्यवसायीहरु पलयान हुँदै गएको उनको भनाइ छ। कोरोना महामारीका कारण उत्पादित फूल खेर गएको र व्यवस्थित बजार नहुँदा व्यवसायीहरुले मर्का खेप्नु परेको उनले बताए।
दसैंतिहारमा सयपत्री र मखमली फूलको बढी माग हुने गरेको छ। फूल व्यवसायमा करिव ४० हजार परिवार संलग्न रहेको फ्लोरिकल्चर एसोसिएशनले जनाएको छ। कृषि विभागका अनुसार २० प्रतिशत फूल अझै भारतबाट आयात हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।