फलेवास- पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला? भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए।
कुस्मा नगरपालिकाका नगर शिक्षा शाखाबाट अनुगमनमा पुगेको टोलीसँग उनीहरुले राम्रो शिक्षण गर्ने र ठगेर हिँड्ने शिक्षकको रेकर्ड पनि प्रस्तुत गरेका हुन्।
शिक्षकका दैनिक क्रियाकलाप विद्यार्थीले नजिकबाट नियालेर बसेका हुन्छन् भने उनीहरुको मूल्यांकनसमेत गरेका हुन्छन् भन्ने कुरा अनुगमनका क्रममा देखिएको छ।
विद्यालयको शैक्षिक गुणस्तर र सिकाइ उपलब्धिका बारेमा अनुगमन गर्न पुगेको टोलीसँग विद्यार्थीले आफूहरुलाई राम्रो शिक्षण गराउने शिक्षकको मुक्तकण्ठले प्रशंसा गरे भने ठगी गर्ने शिक्षकका सबै कर्तुत खोलिदिए।
'विद्यार्थीले राम्रोसँग अध्यापन गराउने र कक्षाकोठामा ठगी गर्ने शिक्षकका बारेमा रेकर्ड राखेरै विवरण दिए,' नगर शिक्षा अधिकृत राजेन्द्र क्षेत्रीले भने, 'आफ्नो बारेमा विद्यार्थीले रेकर्ड राखेका हुन्छन् भन्ने सोचेर शिक्षकले कक्षाकोठामा पुगेर मेहनतका साथ पढाउन जरुरी छ।'
अनुगमन टोलीले जनता सुदर्शन मावि, खौलालाँकुरी मावि, पञ्चकोशी मावि लगायतका विद्यालयका कक्षाकोठामा पुगेर शैक्षिक गुणस्तर, शिक्षण सिकाइ उपलब्धिका बारेमा जानकारी लिएका थिए।
अनुगमनका क्रममा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि असल अभ्यास पनि भइरहेको भेटिएको थियो भने धेरै राम्रा विद्यार्थी पनि भेटिएका थिए। उनीहरुका लागि उपयुक्त वातावरण शिक्षक, विद्यालय र अभिभावकले दिने हो भने धेरै सुधार गरेर जान सकिने सम्भाबना रहेको स्रोत व्यक्ति प्रेम शर्मा सुवेदीले बताए।
अनुगमनका क्रममा नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, स्रोत व्यक्ति प्रेम शर्मा सुवेदी, रामप्रसाद लामिछाने र कुमार उपाध्याय तथा सञ्चारकर्मीको सहभागिता थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।