काठमाडौं– शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभा उत्पति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ प्रतिनिधि सभा बैठकमा पेस गरेकी छन् ।
विधेयकमाथि समितिमा भएको विस्तृत छलफल, संशोधन प्रक्रिया र सरोकारवालासँगको परामर्शपछि तयार पारिएको प्रतिवेदन आजको बैठकमा सभापति शेरचनले पेस गरेकी हुन् ।
प्रतिवेदन पेस गर्दै सभापति शेरचनले समितिले विधेयकका ३३ वटा दफाहरूमध्ये २७ वटा दफामा संशोधन तथा परिमार्जन गरेको जानकारी गराइन् । उनका अनुसार समितिले प्रयोगशालाको संस्थागत प्रवलीकरण, वैज्ञानिक तथा प्राविधिक क्षमता विकास र सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउने गरी विधेयकलाई परिमार्जित गरेको छ।
सभापति शेरचनले भनिन्, ‘विधेयकको मूल उद्देश्य र मर्मलाई कायम राख्दै यसलाई थप स्पष्ट, व्यावहारिक र कार्यान्वयनयोग्य बनाउन समितिबाट आवश्यक संशोधन गरिएको छ।’ उनले प्रयोगशालाले गर्ने परीक्षणमा कुनै पनि प्रकारको हस्तक्षेप नहोस् र गुणस्तरमा सम्झौता नहोस् भन्ने कुरालाई विशेष प्राथमिकतामा राखेर कार्य अघि बढाइएको बताइन् ।
विधेयकमाथिको छलफलमा विषयविज्ञ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। समितिले विधेयकलाई परिमार्जन गर्दा विज्ञहरूबाट प्राप्त राय–सुझाव तथा अन्तर्राष्ट्रिय अभ्यासलाई समेत आधार बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।