काठमाडौं– पछिल्लो समयको विपद्बाट भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले विपद् व्यवस्थापनको संरचनागत सुधारका लागि सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले विपद्लाई ‘दैवी प्रकोप’ भनी पन्छिने प्रवृत्ति गलत रहेको बताएका हुन् ।
हालैको विपद्मा परी २७ जनाले ज्यान गुमाएको र ४ जना अझै बेपत्ता रहेको जानकारी उनले सदनलाई गराए। विपद्का कारण अर्बौँ रुपैयाँ बराबरको भौतिक क्षति भएको उल्लेख गर्दै यसलाई दैवी भन्नुको सट्टा प्राकृतिक वा मानव सिर्जित समस्याका रूपमा बुझ्नुपर्ने धारणा उनले राखे।
सदनमा बोल्दै खरेलले भने, ‘विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ।’ पटक-पटक भन्दै आए पनि यसलाई दैवी प्रकोपको बिल्ला भिराएर जिम्मेवारीबाट पन्छिन नमिल्ने तर्क उनले गरे।
यसअघि नै सदनमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न माग गरेको स्मरण गराउँदै उनले उक्त प्रस्तावको जवाफ अझै नपाएको गुनासो गरे। विपद् व्यवस्थापन प्राधिकरणको हालको संरचना र कार्यशैलीप्रति प्रश्न उठाउँदै उनले सहसचिव स्तरका व्यक्ति राखेर मात्रै जटिल समस्या समाधान नहुने बताए।
प्राधिकरणलाई थप अधिकार सम्पन्न र बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले संसद्को विशेष समिति तथा सुशासन र राज्य व्यवस्था समितिले पनि यसतर्फ गम्भीरतापूर्वक ध्यान दिनुपर्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।