काठमाडौं– ३८ सय केजी सुन तस्करीमा पक्राउ परेकाहरु उपर दोस्रो चरणको अनुसन्धान सुरु भएको छ। तस्करीमा सहयोग गर्ने प्रहरी अधिकारीहरु उपर भ्रष्टाचार तथा तस्करीमा संलग्नहरु उपर सम्पती शुद्धिकरण मुद्दामा छानबिन अघि बढेको हो।
जिल्ला अदालत मोरङमा मुद्दा दायर गर्दा नै उनीहरुमाथि सम्पती शुद्धिकरण अनुसन्धान तथा भ्रष्टाचार मुद्दा चलाउने उल्लेख थियो।
सोही अनुसार सो समूहका तीन मुख्य अभियुक्तलाई काठमाडौं ल्याएर छानबिन सुरु गर्न लागिएको छ। तस्करीका मुख्य व्यक्तिहरु चुडामणि उप्रेती ‘गोरे’, भुजुङ गुरुङ र छिरिङ वाङदेल गुरुङलाई काठमाडौं लाइएको छ। तस्करीको गिरोहबारे थप प्रमाण भेटिएकाले उनीहरुमाथि थप अनुसन्धान पनि हुने बिशेष छानबिन समितिका एक अधिकारीले बताए। उप्रेती, भुजुङ र छिरिङमाथि सम्पती शुद्धिकरण अनुसन्धान विभागले छानबिनमा लगिएको छ। जहाँ उनीहरुको सम्पतीबारे छानबिन सुरु भएको छ। यसअघि नै उनीहरुको सम्पती रोक्का भइसकेको छ।
सुन तस्करीका मुख्य लगानीकर्ता मोहन अग्रवालको घरमा छापा हानेपछि थप विवरणहरु प्राप्त भएकाले त्यसविषयमा पनि उनीहरुमाथि छानबिन हुन लागेको हो।
तस्करीमा संलग्न पूर्व डिआईजी गोविन्द निरौला, निलम्बित एसएसपी श्याम खत्री, एसपी विकासराज खनाल, डिएसपी संजय राउत तथा सइ बालकृष्ण सञ्जेलमाथि भ्रष्टाचार मुद्दामा पनि छानबिन हुन लागेको हो। उनीहरुले अकुत सम्पती कमाएको आशंकामा छानबिन गर्नुपर्ने ठहर छानबिन समितिको थियो।
त्यस्तै एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीको हकमा भने भ्रष्टाचार मुद्दाको सिफारिस भएको छैन। उनीहरुले तस्करीमा सहयोग गरेको नभई सनम शाक्य हत्याको अनुसन्धानमा लापरबाही गरेकाले भ्रष्टाचार मुद्दा सिफारिस नगरिएको समितिका एक अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।