मोरङ– कटहरी गाउँपालिकास्थित जनता मावि केन्द्रमा कक्षा १२ को नेपाली विषयको परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई केन्द्राध्यक्ष झमक दाहाल र विद्यालय प्रशासनको मिलेमतोमा भगाइएको खुलेको छ।
करिब १६/१७ जना नक्कली परीक्षार्थी भदौ ३१ को परीक्षामा सहभागी हुन परीक्षा हलसम्मै पुगेका थिए। सहायक केन्द्राध्यक्ष महावीर गुप्तासहितका केही शिक्षकले उनीहरुलाई बाहिर निकालेका थिए। ती परीक्षार्थीलाई प्रहरीमा नबुझाई केन्द्राध्यक्ष दाहालले भगाएको एक शिक्षकले बताए।
उक्त घटनालाई विद्यालयले गुपचुप राख्न खोजेको थियो। तर, शिक्षकहरुबीच यही विषयलाई लिएर विवाद बढ्दै गएपछि घटना बाहिर आएको हो।
त्यसरी परीक्षा दिन पुगेका परीक्षार्थीको संख्या १६/१७ जना भएको सहायक केन्द्राध्यक्ष गुप्ताले बताए। चार वटा परीक्षा हलबाट चार पाँच जनाको दरले विद्यार्थी निकाले पनि तत्कालै भगाइएकाले तथ्यांक राख्न नसकिएको उनले बताए। ‘हाम्रोमा नियमित कक्षामा आउने विद्यार्थी संख्या ८४ जना छ। तर, परीक्षा फाराम ३३९ जनालाई भराइएको छ,’ गुप्ताले भने, ‘त्यत्रो विद्यार्थी पढाउन सक्ने क्षमता हाम्रो विद्यालयको होइन। नक्कली परीक्षार्थी राख्नकै लागि अन्यत्रका विद्यार्थी पनि ल्याइएका छन्।’
कतिपय नक्कली परीक्षार्थीको प्रवेश पत्रबाट फोटो निकालिएको थियो भने कतिपयको तस्बिरमा अर्को फोटो टाँसेर विद्यालयको छापसमेत हानिएको थियो। विद्यालयका अर्का एक शिक्षकले भने, ‘केन्द्राध्यक्ष र विद्यालय प्रशासनको मिलेमतो नभइ विद्यालयको छापसमेत हानेर नक्कली परीक्षार्थी खडा गर्न संभव हुँदैन। नक्कली परीक्षार्थीलाई हलबाट बाहिर निकालेपछि केन्द्राध्यक्षले प्रहरीको जिम्मा लगाएनन्।’
सहायक केन्द्राध्यक्षले बाहिर निकालेका नक्कली परीक्षार्थीलाई केन्द्राध्यक्षले नै भगाएको विद्यालय स्रोतले जनाएको छ। ती विद्यार्थी पहिलो दिनको अंग्रेजी विषयको परीक्षामा पनि सामेल थिए। उनीहरुको पहिचान भए पनि केन्द्राध्यक्षको दबाबमा बाहिर निकाल्न नसकेको ती शिक्षकले बताए।
नक्कली परीक्षार्थीको सिम्बल नम्बर र कपी केन्द्राध्यक्षलाई जिम्मा लगाइए पनि परीक्षा रद्द गर्न पहल नगरी कपी जस्ताको त्यस्तै पठाएको उनको भनाइ छ। केन्द्राध्यक्षकै मिलेमतो नभई त्यति धेरै नक्कली परीक्षार्थी परीक्षा हलमा प्रवेश गर्न नसक्ने ती शिक्षकले बताए।
केन्द्राध्यक्ष दाहालले भने प्रहरी संख्या थोरै हुँदा नक्कली परीक्षार्थीलाई पक्राउ गर्न नसकेको बताए। ‘मैले नक्कली परीक्षार्थीलाई प्रहरीको जिम्मा लगाउनुपर्ने रहेछ। तर, थाहा नपाएकाले घर पठाइदिएँ, गल्ती भयो,’ दाहालले भने, ‘प्रहरी पनि दुई जना मात्र थिए। त्यसैले पक्राउ गर्न संभव भएन।’
आफू त्यही ठाउँमा बस्नुपर्ने हुनाले पनि पक्राउ गरेर प्रहरीको जिम्मा लगाउन कठिन भएको दाहालको भनाइ छ। उनले भने, ‘म पनि यही ठाउँमा बस्नुपर्छ, मेरो सुरक्षाबारे पनि त मैले सोच्नु पर्यो नि।’
उक्त विद्यालयका प्रधानाध्यापक रामनारायण विश्वासले आफू त्यो दिन विद्यालयमा नभएकाले घटनाबारे थाहा नभएको बताए। ‘म धनकुटा गएको थिएँ, मैले पनि घटनाबारे थाहा पाएँ। दुई जना नक्कली परीक्षार्थीलाई गेटबाटै फर्काइएछ, अरु कति विद्यार्थी हलबाट निकालियो भन्ने तथ्यांक छैन,’ उनले भने।
राष्ट्रिय परीक्षा बोर्ड विराटनगरले उक्त घटनाबारे कार्यालयमा कुनै जानकारी नआएको बताएको छ। तर, विद्यालय स्रोतका अनुसार अंग्रेजी विषयको परीक्षाबाट नक्कली परीक्षार्थी ननिकालिएपछि बोर्डको विराटनगर कार्यालयलाई जानकारी दिइएको थियो। बोर्डकै निर्देशनपछि केन्द्राध्यक्ष दाहाल भोलिपल्ट नेपाली विषयको परीक्षाबाट विद्यार्थी निकाल्न सहमत भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।