प्रतीकात्मक तस्वीर
काठमाडौं– काठमाडौंलाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ।जिल्लामा ९६ प्रतिशतभन्दा धेरै साक्षरता प्रतिशतमा पुगेपछि साक्षर जिल्ला घोषणा गरिएको हो।
सोमबार आयोजित कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले साक्षर काठमाडौंको घोषणा गरेका हुन्। कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेलले सबै मापदण्ड पूरा भएपछि साक्षर काठमाडौं घोषणा गरिएको बताए।
काठमाडौंका स्थानीय तहमध्ये शंकरापुर ९६.५ प्रतिशत, कागेश्वरी मनोहरा ९६.९७ प्रतिशत, गोकर्णेश्वर ९५.०४ प्रतिशत, बूढानीलकण्ठ ९८.६९ प्रतिशत, टोखा ९८.५४ प्रतिशत, तारकेश्वर ९८.०८ प्रतिशत, नागार्जुन ९७.८ प्रतिशत, चन्द्रागिरि, ९६.४७ प्रतिशत, कीर्तिपुर ९५ प्रतिशत, दक्षिणकालीमा ९६ प्रतिशत र काठमाडौँ महानगरपालिकामा ९६.६० प्रतिशत साक्षर रहेको जनाइएको छ।
विश्वव्यापी अभ्याससमेतलाई अनुसरण गर्दै १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका सम्बन्धित क्षेत्र एवं जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने सरकारको नीतिगत निर्णयका आधारमा काठमाडौंलाई साक्षर घोषणा गरिएको हो।
काठमाडौँलाई साक्षर घोषणा गरिए पनि दिगो साक्षरताका केही चुनौती रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।