काठमाडौं- राजनीतिक पार्टीमा आफ्नो नाम जोडेको भन्दै साउथ फिल्मका अभिनेता थलापति विजयले आमाबुबाविरुद्ध मुद्दा हालेका छन्।
राजनीतिक पार्टीमा आफ्नो नाम जोडेर कार्यक्रम तथा सभा आयोजना गरेको भन्दै उनले आमाबुबासहित ११ जना विरुद्ध अदालतमा मुद्दा हालेका हुन्।
उनले आफ्नो नाम जोडेर यस्ता कार्यक्रम नगर्न पटकपटक आग्रहसमेत गरेका थिए। तर, उक्त आग्रह नमानेको भन्दै उनले मुद्दा दर्ता गरेका हुन्।
उनका बुबा एसके चन्द्रशेखरले सन् २०२० मा विजयको नामबाट ‘अल इन्डिया थलापति विजय मक्कल इयक्कम’ पार्टीको नाम राख्ने घोषणा गरेका थिए।
उनले विजय पनि छिट्टै राजनीतिमा आउने दाबी गरेका थिए। तर, विजयले भने यो कुरामा सत्यता नरहेको बताएका छन्।
उनले बुबाले घोषणा गरेको राजनीतिक पार्टीसँग आफ्नो कुनै संलग्नता नरहेको उनले स्पष्ट पारेका छन्।
‘मेरा बुबाले घोषणा गर्नुभएको कुरामा सत्यता छैन र मेरो प्रत्यक्ष वा अप्रत्यक्ष कुनै सम्बन्ध पनि छैन। बुबाको राजनीतिक चाहनाको पालना गर्न म बाध्य छैन,’ उनले भनेका छन्।
साथै, फ्यानहरुलाई आफ्नो नाम जोडेको राजनीतिक पार्टीमा आवद्द नहुनसमेत उनले आग्रह गरेका छन्। यस्तै, नाम, फोटो या आफ्नो फ्यान क्लबको दुरुप्रयोग गरेर राजनीतिक स्वार्थ पुरा गर्न प्रयास गर्ने विरुद्धमा जाने उनले बताएका छन्।
यस मुद्दामा सुनुवाइ २७ सेप्टेम्बरमा हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।