काठमाडौं– प्रधानन्यायाधीश विना संवैधानिक इजलास गठन गर्न मिल्ने कि नमिल्ने भन्ने विवादसम्बन्धी मुद्दामा राय दिनका लागि नेपाल बार र सर्वोच्च बार एसोसिएशनले एमिकस क्युरीका रुपमा ४ जना कानुन व्यवसायीको नाम पठाएको छ।
नेपाल बार एसोसिएशनले २ र सर्वोच्च बार एसोसिएशनले २ जना एमिकस क्युरीको नाम सर्वोच्च अदालतमा पठाएको हो।
नेपाल बारले अध्यक्ष चण्डेश्वर श्रेष्ठ र शेरबहादुर केसीको नाम पठाएको छ भने सर्वोच्च बारले सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य र रविनारायण खनालको नाम पठाएको छ।
२०७७ मंसिर ३० र त्यसपछि जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अध्यादेशानुसार भएका नियुक्तिसम्वन्धी विवादको सुनुवाइ गर्न गठन भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न मिल्ने कि नमिल्ने विवादको सुनुवाइका लागि यसअघि सर्वोच्चको एकल इजलासले एमिकस क्युरी माग गरेको थियो।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले संवैधानिक निकायको नियुक्तिसम्बन्धी मुद्दालाइ प्रधानन्यायाधीश सहितको वा रहितको संवैधानिक इजलास गठन गर्न हुने वा नहुने भन्ने मुद्धामा नेपाल बार र सर्वोच्च बारबाट २/२ जना वरिष्ठ अधिवक्तासहित अदालतको सहयोगी एमिकस क्युरीका रुपमा पठाउन आदेश गरेको थियो।
न्यायाधीश फुयाँलको इजलासले जारी गरेको उक्त आदेशले अहिले संवैधानिक इजलाससम्बन्धी इजलास गठनसँग सम्बन्धित विषय विवाद झन् गहिरिँदै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।