काठमाडौं- रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आइरहेको विवाहित महिलाको लागि नेपालको सबैभन्दा ठूलो प्रतियोगिता 'मिसेस नेपाल इन्टरनेसनल' नामक सौन्दर्य प्रतियोगिता यस वर्षदेखि 'मिसेस नेपाल वर्ल्ड'को रुपमा आयोजना हुन लागेको छ।
सन् २०१९ मा मिसेस नेपाल इन्टरनेसनलको पाँचौ संस्करण सम्पन्न गरेको र सन् २०२० मा कोरोनाको महामारीका कारण स्थगित हुन गएको कार्यक्रम यस वर्षदेखि परिमार्जित भई 'मिसेस नेपाल वर्ल्ड' को रूपमा आयोजन हुन लागेको रिबन इन्टरटेनमेन्टले जनाएको छ।
यस वर्ष 'मिसेस नेपाल वर्ल्ड' को पहिलो संस्करणको घोषणासँगै यस कार्यक्रमको विजेताले सन् २०२२ को जनवरीमा लस भेगास, अमेरिकामा आयोजना हुने 'मिसेस वर्ल्ड'मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन्।
यस वर्ष देखि रिबनले आयोजना गर्ने कार्यक्रममा एकै मन्चबाट मिसेस नेपाल वर्ल्ड र मिसेस नेपाल इन्टरनेसनलका साथै एम. एस. नेपाल इन्टरनेसनल गरी तीन जना बिजेताहरुको छनोट गर्नेछ।
यसैगरी मिसेस इन्टरनेसनल नेपाल तथा एम. एस. नेपाल इन्टरनेसनलका विजेताले नेपाललाई प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा आयोजना हुने 'मिसेस इन्टरनेसनल' तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने छन्।
यो वर्ष 'मिसेस वर्ल्ड' मा नेपालको पहिलो सहभागिता हुनेछ।
यस अघि सम्पन्न मिसेस इन्टरनेसनलमा सबिता लामिछाने, अनुपमा राई, सुरुची पाण्डे, चन्दा थापा गिरी र भाविषा कोइराला चटौतले क्रमस: उपाधि जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।