काठमाडौं- सर्वोच्च अदालतले विरोध प्रदर्शनमा रोक लगाउने गृह मन्त्रालयको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ।
सोमबार न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।
२० भदौमा गृह मन्त्रालयले एक सूचना जारी गर्दै छिमेकी राष्ट्रका प्रधानमन्त्रीको पुत्ला दहन गर्ने तथा नाराबाजी र जुलुस प्रदर्शन भइरहेको भन्दै यस्ता गतिविधिमा संलग्न हुनेलाई कारबाही गर्ने चेतावनी दिएको थियो।
महाकाली घटनाका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन र विरोध प्रदर्शन तथा एमसीसीविरुद्ध प्रदर्शन भइरहेका बेला गृहको यस्तो सूचना आएको थियो। जसविरुद्ध अधिवक्ता प्रवेश केसीले सर्वोच्चमा रिट निवेदन पेस गरेका थिए।
अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नेगरि सरकारले विज्ञप्ति जारी गरेको उनको दाबी थियो। रिटमा गृहको वक्तव्य संविधानले दिएको विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकार विपरीत भएको जिकिर गरिएको थियो।
सोमबार सर्वोच्चले पनि गृहको निर्णयले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पारेको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।