काठमाडौं- लगातार ओरालो लागेको सेयरबजारमा आज पनि उच्च अंकको गिरावट आएको छ।
साताको पहिलो कारोबार दिन (सोमबार)मा नै नेप्से ११४.०२ अंकले घटेको हो। यससँगै नेप्से २६९८.२५ विन्दुमा ओर्लिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कूल आठ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल १८५ वटा कम्पनीका एक करोड ७३ लाख ३० हजार ५३८ कित्ता सेयर एक लाख सात हजार ५९६ पटक खरिद-बिक्री भएका थिए।
कारोबार भएकामध्ये चार वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ। बाँकी १८१ कम्पनीको सूचक नकारात्मक बनेको छ।
यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १९.५१ अंकले घटेर ५०६.२७ विन्दुमा ओर्लिएको छ।
आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.९९ प्रतिशतले कमाएका छन्। गुडविल फाइनान्ससहित सातवटा कम्पनीको कारोबारमा नकारात्मक सर्किट लागेको थियो।
आज अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सबैभन्दा धेरै ४० करोड ६५ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सोही कम्पनीको सबैभन्दा धेरै छ लाख ५८ हजार ८१६ कित्ता सेयर कारोबार भएको छ। नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको सेयर सबैभन्दा धेरै तीन हजार ५९८ पटक किनबेच भएका थिए।
आज सबै उपसमूहको परिसूचक नकारात्मक बनेको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।