काठमाडौं- नेपालमा हात्ती बचाउन तत्काल रणनीति र कार्यक्रम नबनाउने हो भने छिट्टै लोप हुनसक्ने विज्ञहरुले बताएका छन्।
वासस्थान घट्दै जानु र आहारको कमीले हात्तीको संख्या घट्ने बताइएको छ। सँगै मान्छे र हात्तीबीच द्वन्द्व बढाउने पनि देखिएको छ।
नेपालको तराई क्षेत्रमा रहेको सबै निकुञ्ज आरक्षमा हात्तीको वासस्थान र आवतजावत हुने गरेको पाइन्छ। एउटा हात्तीलाई कम्तीमा २५० वर्गकिमिको क्षेत्र आवश्यक पर्ने हुन्छ। त्यो क्षेत्र घट्दै जाँदा र सानो क्षेत्रफलमा धेरै हात्ती बस्ने बाध्यताले नजिकै रहेको मानवबस्तीमा हात्ती पस्न थालेको विज्ञहरुले बताएका छन्।
विज्ञहरुका अनुसार हात्तीले खानाका लागि, प्रजनन् समागमका लागि र पुर्खा हिँड्ने बाटो भए त्यसलाई पहिल्याउँदै हिँड्ने गर्दछ। यसरी हिँड्ने क्रममा बाटोमा भएको मानवबस्ती, खेत खलियान बिगार्दै हिँडेको पाइन्छ। पूर्वको कोही टप्पु आरक्षमा अर्नासँगै १९ वटा जंगली हात्ती रहेको तथ्यांक छ। कूल १७५ वर्ग किलोमिटर क्षेत्रफल रहेको कोही टप्पुमा १९ वटा हात्ती हुनु भनेको मानव-वन्यजन्तुको द्वन्द्वको मुल कारण हो। यस्तो द्वन्द्वमा मानवीय क्षति मात्र होइन, वन्यजन्तु पनि दुर्घटनामा पर्ने, मारिने-मर्ने जोखिम हुन्छ। मानव-हात्ती द्वन्द्व कम गराइ आरक्ष क्षेत्रको दिगो विकास गर्न सरकारले तुरुन्त रणनीतिक योजना बनाएर काम गर्न आवश्यक रहेको विज्ञहरु बताउँछन्।
प्रमुख वार्डेन रामले कोशी टप्पुको संरक्षण, विस्तार र विकासका लागि स्थानीय सरकार र प्रदेश सरकारले पनि भूमिका खेल्नुपर्ने बताए।
राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले नेपालमा रहेका संरक्षण क्षेत्रको संख्या र स्थानबारे अध्ययन हुन आवश्यक रहेको बताए। संरक्षित क्षेत्रलाई मानवबस्ती र खेती गर्ने जमिन घेर्दै जाने र अनावश्यक घुसपैठले मानव-वन्यजन्तु द्वन्द्व बढाइरहेको डा. ओलीले बताए। संरक्षित क्षेत्रको क्षमता तथा विस्तार र वन्यजन्तु स्थानान्तरणबारे विद्यमान कानुनी व्यवस्थालाई संशोधन गरेर अगाडि बढ्नुपर्ने आवश्यक्ता रहेको डा. ओलीले बताए।
कोशीटप्पु वन्यजन्तु आरक्ष खासगरी जंगली भैँसी, अर्नाको संरक्षको लागि स्थापना गरिएको थियो। २०३२ सालमा अर्ना संरक्षणको लागि स्थापना भए पनि अहिले लोपोन्मुख चराहरु, हात्तीको संरक्षणमा काम भइरहेको छ। पछिल्लो समय यस आरक्षलाई मानव-हात्ती द्वन्द्व व्यवस्थापनको काम गर्नेमा बढी केन्द्रित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।