काठमाडौं– लोकसेवा आयोगले २०७६ सालमा प्रकाशित गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा सार्वजनिक नगरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन्।
सोमबार काठमाडौंमा रहेको लोकसेवा आयोगको कार्यालय अगाडि ६३१ जना परीक्षार्थीले तत्काल नतिजा प्रकाशनको माग राख्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएका परीक्षार्थीहरुले लोकसेवा जस्तो जिम्मेवार संस्थाले नतिजा प्रकाशन नगरी स्थगित गरिएको सूचना निकालिनु घिनलाग्दो भएको बताएका छन्।
उनीहरुले लोकसेवा जस्तो गरिमामय संस्थाको आस्था र भरोसालाई बचाइराख्न पनि लोकसेवाले तत्काल नतिजा प्रकाशन गरिनुपर्ने बताएका छन्। प्रदर्शनकारी परीक्षार्थीले लोकसेवा आयोगको यो कदमले देशमा कोप्रति आस्था गर्ने, कसलाई विश्वास गर्ने भन्ने प्रश्न उठेको बताए।
उनीहरुले लोकसेवा आयोगले तत्काल परीक्षाको नतिजा निकाल्नुपर्ने माग गरेका छन्। प्रदर्शनमा उत्रिएका एक परीक्षार्थीले लोकसेवा जस्तो योग्यताको कदर गर्ने र जिम्मेवार संस्थाले नतिजा ननिकालेर विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न खोजेको टिप्पणी गरे। उनले लोकसेवा आयोगले सबै परीक्षाहरु सकिसकेपछि पनि नियम, कानुन र ऐनले तोकेको प्रावधानअनुरुप नतिजा प्रकाशन नगरेको आरोप लगाए।
प्रदर्शनकारी परीक्षार्थीहरुले लोकसेवा आयोगको यो निर्णयबाट कतिपय परीक्षार्थीहरू डिप्रेसनको शिकार भइरहेको बताएका छन्। उनीहरूले लोकसेवा आयोगले विभिन्न कोटाका लागि तीन वर्षसम्म विज्ञापन बमोजिम नतिजा प्रकाशन नगरिदिँदा समय र लगानी खेर गएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।