काठमाडौं- पत्रकार हरिबहादुर थापा र कार्टुनिष्ट रविन सायमीले सरकारले दिएको पदक अस्वीकार गर्ने घोषणा गरेका छन्। थापाले सुप्रवल जनसेवाश्री र सायमीलाई प्रवल जनसेवाश्री प्रदान गर्ने निर्णय सरकारले गरेको छ।
पदक अस्वीकार गर्दै सामाजिक सञ्जालमा थापाले लेखेका छन्, 'विगतमा मलाई पदकका लागि पटकपटक सोधिएको र मैले अस्वीकार गरिआएको जानकारी गराउँछु। यसपालि भने सोध्दै नसोधी मेरो नाम आएछ। सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु।'
मानपदवी, अलंकार, पदकको विकृति, पदक पाउनेको सार्वजनिक सुयोग्यताबारे समाचार–विश्लेषण–पुस्तकमार्फत लामो समयदेखि प्रश्न उठाइरहेको बताउँदै उनले यसको पारदर्शितामा जोड दिएका छन्।
उनकोभनाइ छ, 'राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ। कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ।'
यसैगरी कार्टुनिष्ट सायमीले हाललाई विभूषण ग्रहण नगर्ने निर्णय लिएको बताएका छन्। उनले पदक अस्वीकार गर्दै लेखेका छन्, 'सरकारले मलाई 'प्रवल जनसेवा श्री'बाट विभूषित गर्ने निर्णय गरेको रहेछ। तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।