काठमाडौं– कमेडी च्याम्पियनको दोस्रो संस्करणको विजेता भरतमणि पौडेलले अब जिन्दगीको परीक्षा सुरु भएको बताएका छन्।
शनिबार विजेता घोषणा भएपछि सञ्चारमाध्यमसँग कुरा गर्दै पौडेलले कमेडी च्याम्पियनको यात्रा सकिए पनि अब वास्तविक परीक्षा सुरु भएको बताएका हुन्। ‘अहिलेलाई कमेडी च्याम्पियनको यात्रा मात्रै सकिएको हो, जिन्दगीको परीक्षा अझै बाँकी छ,’ उनले भन्छन्, ‘अब मलाई साथ दिने दर्शकको अपेक्षाअनुसार काम गर्दै जानु छ। सबैको माया सद्भाव पाएर यहाँसम्म आएँ, अब उहाँहरुको विश्वासलाई कायम राख्नु छ।’
पौडेलले च्याम्पियन बनेसँगै कोरोना महामारीको कहर शान्त भएपछि देश तथा विदेशका विभिन्न स्थानमा यात्रा गर्ने र प्रस्तुति दिने बताएका छन्।
आफ्नो भूगोलमा संघर्ष गरिरहेका थुप्रै मध्येबाट आफूले कमेडी च्याम्पियन जित्नु त्यो क्षेत्रले नै जित्नु बराबर भएको उनको भनाइ छ।
‘ताप्लेजुङमा हास्यव्यंग्यमा केही गर्न खोजिरहेका धेरै भाइबहिनी हुनुहुन्छ,’ उनी भन्छन्, ‘म काठमाडौंमा बसेर आफ्नै किसिमले संघर्ष गरिरहेको थिएँ। आजको जित मेरो परिवारसँगै सबै ताप्लेजुङको हो। अब थप लगाव र जिम्मेवार भएर यो क्षेत्रमा योगदान दिने जिम्मेवारी थपिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।