काठमाडौं- काठमाडौं महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको जानकारी दिएको छ।
शनिबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २१औँ गणेश मन्दिरको उद्घाटन गरे। इनाखास्थित मन्दिर उद्घाटनपछि उनले महानगरपालिकाको पहिलो उद्देश्य नै संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको बताए।
महानगरपालिकाले प्राथमिकताका साथ भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निमाण गरिहेको उनले बताए। काठमाडौं महानगरपालिकाभित्र रहेका ३२ वटै वडाका पुरातात्त्विक तथा ऐतिहासिक कुराहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गरिहेको उनले जानकारी दिए।
मेयर शाक्यले काठमाडौं आउने पर्यटकहरुले काठमाडौं घुम्नका लागि र बुझ्नका लागि पनि ऐतिहासिक कुराहरु जोगाइरहनुपर्ने बताए। काठमाडौंका पुरातात्त्विक कुराहरुलाई जोगाउनु र पुनर्निर्माण गर्नु महानगरको दायित्व भएकोले पुनर्निर्माणमा दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
मेयर शाक्यले कतिपय स्थानमा पुरातत्त्व विभागसँग समन्वय हुन नसकेको र गुठीसँग समन्वय नहुँदा सम्पदा पुनर्निर्माणमा समस्या भइरहेको बताए। उनले गुठीको नाममा धेरै सार्वजनिक जग्गा भएकोले महानगरलाई लिजमा दिन पनि आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।